काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको ११ महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदन अनुसार आयात र बैदेशिक व्यापार घाटामा केही प्रतिशतले कमी आएपनि अपेक्षा गरे अनुसार निर्यात बढ्न नसक्दा अर्थतन्त्र कमजोर देखिएको छ । जसअनुसार चालु आवको ११ महिनामा झण्डै १५ खर्ब रुपैंयाँको सामान आयात हुँदा एक खर्ब रुपैंयाँको हाराहारीमा सामान निर्यात भएको छ । यसो हुँदा मुलुकको कुल व्यापार घाटा १३ खर्ब नाघेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनामा कुल वस्तु निर्यात २२ दशमलव सात प्रतिशतले घटेर एक खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३ दशमलव तीन प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२ दशमलव दुई प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय छ दशमलव सात प्रतिशत र ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको देखिएको छ ।
चालु आवको पछिल्लो ११ महिनामा कुल वस्तु आयात भने १६ प्रतिशतले घटेर १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७ दशमलव पाँच प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४ दशलव आठ प्रतिशत, १७ दशमलव एक प्रतिशत र १८ दशलमलव पाँच प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको राष्ट्र बैंकको भनाई छ । आयाततर्पm रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।
चालु आवको ११ महिनामा कुल वस्तु व्यापार घाटा १५ दशमलव दुई प्रतिशतले घटेर १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव शुन्य पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया