२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनले नेपाली राजनीतिमा तरंग ल्यायो ।
निर्वाचनबाट जनताले पत्याएका बालेन, हर्क, गोपाल जस्ता पात्रले युवालाई राजनीतिमा आकर्षण मात्र गरेन, पुराना भनिएका दललाई सच्चिन संकेतसमेत गरे ।
अहिले यिनै पात्रको गुनगानमा गाउन व्यस्त छ, नेपाली समाज ।
एक जुगमा एक दिन एकचोटि आउँछ
उलट पुलट, उथल पुथल, हेरफेर ल्याउँछ ।।
गोपालप्रसाद रिमालको यो गीति हरफले फेरि एकपटक यिनै पात्रमाथि केन्द्रीत भएको छ । हुन त झण्डै ७ दशकअघि रिमालले कोरेको यो हरफ सधैं नेपालको राजनीतिको केन्द्रमा रहन्छ । स्थानीय निर्वाचनपछि उदाएका हर्क, बालेन र गोपाल हमालका कामले उक्त हरफलाई चरितार्थ गरेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनपछि गाउँ गाउँमा सिंहदरबार पुगेको भनियो तर, जनप्रतिनिधिको काम उही कर्मकाण्डीबाहेक केही हन सकेन । माटो सुहाउँदो विकास गर्ने भन्दा पनि आफू केन्द्रीत र कार्यकर्तामुखी काम गर्नमै बित्यो स्थानीय जनप्रतिनिधिको अघिल्लो कार्यकाल । जसकारण स्थानीय तहको क्षेत्राधिकार के कति हो भन्ने समेत जनताले भेउ पाउन सकेनन् । तर, जब गत निर्वाचनमा काठमाडौं, धनगढी र धरानको नतिजाले भने त्यसलाई चेन ब्रेक नै गरिदियो । जनताले राजनीतिप्रतिको वितृष्णालाई मतमार्फत राम्रैसँग व्यक्त गरिदिए ।
जनताको मतलाई कदर गर्दै जनमुखी काम गरिरहेका स्वतन्त्र मेयरका कामले कामले वाहवाही कमाउन थालेको छ । अनि, स्वच्छ मनले जनताको सेवामा लाग्ने हो भने जनप्रतिनिधिले जनताको साथ पाउँदा रहेछन् भन्ने पनि प्रमाणीत भइसकेको छ ।
एकपटक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नै हेरौँ । काठमाडौंको कोर नेवारी बस्तीमा पसेका बालेनको लौरीले वर्षौवर्ष राजनीति गरेका तर जनतालाई कुनै परिणाम नदिएकाहरुलाई राम्रैसँग दनक दिएका छन् । बागदरबारको बागडोर सम्हालेसँगै बालेलने शिक्षा, स्वास्थ्य, सार्वजनिक सम्पत्ति संरक्षण र जनजीविकाका सवालमा गरेका कामले वाहवाही पाएका छन् ।
बालेनका केही कामले दीर्घकालमा सकारात्मक नतिजा दिने आँकलन गर्न सकिन्छ ।
सार्वजनिक विद्यालयको सुधार, निजी विद्यालयको वेथिति अन्त्य, फार्मेसीमा सहुलियत, विद्यार्थीलाई बुक फ्रि फ्राइडे लगायतका कार्यक्रमले भाबी दिनमा गतिलो परिणाम दिने अपेक्षा गरिएको छ । साथै,मेयर बालेनले नक्सापास बिना बनाइएका संरचनामाथि चलाइएको डोजर, अव्यवस्थित पार्किङ हटाउने लगायतका कामको खुलेर प्रशंसा गर्न लायक छन् । उसो त लय छाडेको नेपालको गतिलाई लयमा ल्याउनका लागि बालेनले चलाएको डण्डाले जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने सन्देश मजैले दिएको छ ।
काठमाडौंंमा बालेन मात्र होइन, धरानका हर्क साम्पाङ पनि पुराना राजनीतिक दलको गढ भत्काउँदै धरान उपमहानगरपालिकाको बागडोर सम्हाल्न पुगे । धराने जनतालाई खानेपानी खुवाउने कसम खाएका साम्पाङले श्रम दानबाटै पानी खुवाउन सफल भएका छन् । उनको श्रमदान अभियान यसरी चल्यो कि अर्बौंको योजना श्रमदानबाटै सम्पन्न गरे ।
अनि वर्षौँदेखि बजेटमाथि हुने वेथितिलाई छिनभरमै परिवर्तन गरिदिए । अनि, श्रमदानको संस्कृतिलाई स्थापित गराएरै छोडे । उसो त वर्षौँदेखि त्यही खानेपानीलाई मुख्य नारा बनाउँदै जनतामाझ जाने नेतालाई राम्रैसँग हर्कको लौरोले राम्रै झड्का दियो । अनि, वर्षौँदेखि तिर्खाएका धराने जनताहरुलाई पानी खुवाउने हर्कलाई धन्यवाद दिनुको साटो पानीको राजनीति गर्दै आएकाहरुले विरोधसमेत गरे । २६ किलोमिटर मेलम्चीको पानी ल्याउन तीन दशक लगाउनेहरुले हर्कको श्रमदान २१ शताब्दीको आधुनिक प्रविधिको वेवास्ता भन्दै आलोचना पनि गरे । राजनीति दलका घोषणापत्र र नीति तथा कार्यक्रममा आफ्नो गाउँ आफैँ बनाऔँ भन्ने नारा पटकपटक समेटिएका छन् । तर आजसम्म कुनै राजनीतिक दलले श्रम संस्कृतीलाई प्राथमिकता दिन सकेनन्, घोषणा गरिएका कुराहरु कार्यान्वयन गर्न नसक्ने राजनीतिक दलका नेता कार्यकर्ताहरुबाट आउने आलोचना केवल आलोचनाका लागि भइरहेको पुष्टि हुन्छ ।
त्यसो त गत निर्वाचनमै धनगढी उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयर बनेका गोपाल हमालले पनि स्थानीय जनप्रतिनिधिको राम्रो उदाहरण बनिरहेका छन् ।
बालेन हर्क जस्तै उनको पनि काम गर्ने आफ्नै तरिका छ । उनले आफ्नो क्षेत्राधिकारभित्र रहेका संरचनाको निर्माणदेखि अवैध संरचना हटाउनेसम्मका कामहरुले चर्चा पाइरहेको छ । त्यस्तै विपदका बेला हुनसक्ने जोखिमलाई समेत ध्यानमा राखेर उनले काम गरिरहेका छन् ।
हो, माथिका यी तीन स्वतन्त्र पात्र । जसले निर्वाचनमा मतदाताले लगाएको गुनलाई किस्ता किस्तामा तिरिरहेका छन् । आफ्नै लयमा बगिरहेका छन् यी मेयरहरु । अनि देशले यी जस्तै नेतृत्व मागिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया