काठमाडौं । हिरो महिला गोल्डकप फुटबल अन्तर्गत भोली ‘शनिवार’ नेपाली राष्ट्रिय महिला फुटबल टोलीले म्यानमारको सामना गर्दैछ ।
अहिले नेपाली टिम भारतको भुवनेश्वरमा प्रतियोगिताको लागि अभ्यासरत छन् । भोली हुने पहिलो खेलमा नेपालले म्यान्मारलाई हराउँदै प्रतियोगितामा शुखद शुरुवात गर्ने लक्ष्य रहेको नेपाली टिमका प्रशिक्षक हरि खड्काले लोकपथलाई जानकारी दिए । साथै, उनले तयारी पनि राम्रै भएको समेत जानकारी दिए ।
त्यस्तै नेपाली टिमकी कप्तान भगवती रानामगरले पनि खेलाडीहरु फिट भएकाले खेल खेल्न आतुर रहेको बताइन् । नेपाल र म्यान्मारबीचको खेल नेपाली समयानुसार पौने ४ बजेपछि शुरु हुनेछ ।
झापामा पाँच दिन बन्द प्रशिक्षण गरेर नेपाली टिम उक्त प्रतियोगिता खेल्न गत मंगलवार नै त्यसतर्फ प्रस्थान गरेको थियो । भारत फुटबल संघको आयोजनामा भएको यो प्रतियोगितामा भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन् ।
त्यस्तै २८ गते चिरपरिचित प्रतिद्धन्दी भारतसँग भिड्नेछ । राउण्ड रोबिन लिगको आधारमा खेलाइने खेलमा नेपालले फागुन १ गते इरानको सामना गर्नेछ ।
आसन्न साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई मध्यनजरमा राख्दै नेपाली महिला टिमले यो प्रतियोगिता खेल्न लागेको हो ।
नेपाली टिममा गोलकिपरमा एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ डिफेन्डरमा हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना र मन माया लिम्वु रहेका छन् ।
त्यस्तै मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, स्ट्राइकरमा अनु लामा, रेखा पौडेल, निरु थापा, सावित्रा भण्डारी र अनिता के सी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया