काठमाडौं । मोफसलको उत्कृष्ट फुटबल प्रतियोगिता बूढासुब्बा रेडबुल गोल्डकपको २१ औँ संस्करण शनिबारदेखि शुरु हुँदैछ ।
प्रतियोगिताको सबै खेल धरान–१६ स्थित क्षेत्रीय रंगशालामा शुरु हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।
रंगशालाको भौतिक पूर्वाधार पूरा गरी सिङ्गारिएको छ । गत साउन पहिलो साता नै मैदानमा घाँस रोपिएको थियो । उक्त घाँसमा अहिले पानी लगाएर हरियो बनाइएको छ । जिल्ला खेलकूद विकास समितिले चालु आर्थिक वर्षको खेलकूदको बजेटबाट पाँच लाख ५० हजार लगानी गरेर घाँस रोपेको हो ।
माघ २६ गतेदेखि फागुन ४ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ ।
अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’का उपाध्यक्षसमेत रहेका राईले विदेशी टिम ल्याउन एन्फाले पहल नगरेकामा भने गुनासो गरे । ‘विदेशी उत्कृष्ट टिम ल्याउन एन्फालाई अनुनय विनय गरे, तर, सफल भइएन, एन्फाले बेवास्ता ग-यो”, उनले भने, “२२औँ संस्करण रात्रि समयमा अन्तर्राष्ट्रिय ‘ए’ ‘लेभल’का टिम ल्याएर प्रतियोगिता गराउँछौँ ।”
क्लबका महासचिव प्रताप तामाङका अनुसार उत्तर र पूर्वतर्फ पक्की प्यारापिट बनिसकेको छ । ती प्यारापिटमा करीब पाँच हजार दर्शक अटाउँछन् ।
पश्चिमतर्फ भने दुई सय र एक सय फिटको प्यारापिट बनेको छ, जसमा दुई हजार थप दर्शक अट्नेछन् । पश्चिमतर्फ नै पाँच सय क्षमताको ‘भिआइपी’ प्यारापिट तयार भइसकेको छ ।
यो वर्षको प्रतियोगितामा लिग च्याम्पियन मनाङमस्र्याङ्दी क्लब, पुलिस क्लब, सङ्कटा, सहार क्लब पोखरा, धरान फुटबल क्लब, मेची नेत्रालय झापा, डाल्पीनास क्यामारुप, भूटान, डालहाउस, एथेलेटिक कोलकता मैदानमा आउने आयोजकले जनाएको छ ।
थ्रीस्टार क्लब र आर्मी क्लब भूटानमा भइरहेको प्रतियोगितामा रहेका कारण सहभागिता जनाउन नसकेको आयोजक क्लबका अध्यक्ष राईले बताए । करीब ७० लाख खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले आठ लाख र उपविजेताले चार लाख पाउनेछन् ।
गत वर्ष थ्रीस्टार क्लब विजेता बनेको थियो । उपविजेता प्रहरी टिम बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया