काठमाडाैं । बुधबार सिनामंगलबाट बरामद भएको करिब एक सय केजी सुनका मालिक ज्यामी काम गर्ने साधारण व्यक्ति रहेको पाइएको छ । ती व्यक्ति हुन्– दिलिप भुजेल । काठमाडौंमा घर बनाउने ज्यामी काममा खटिने भुजेल अहिलेसम्मको अवस्थामा एकसय किलो सुनको मालिक देखिएका छन् ।
दोलखा घर भएका भुजेललाई बुधबार राति १० बजे काठमाडौंको साँखुबाट पक्राउ गरिएको थियो । २१ वर्षीय दिलिपले कक्षा १२ सम्मको अध्ययन गरेका छन् र उनी पेसाले एक साधारण कुल्ली रहेको दिलिपको पारिवारिक स्रोतले जनाएको छ ।
यद्यपि, २ महिना अघिबाट दिलिप साँखुमा रहेको आफन्तको चाउमिन फ्याक्ट्रीमा चाउमिन तयार पार्ने र बजारमा लगि विक्री गर्ने काम गर्दै आएका थिए । उनै भुजेल हालसम्मकै उच्च परिणाममा समातिएको सुनको मालिकका रुपमा पक्राउ परेका छन् ।
राजश्व अनुसन्धान विभागले रेडी ट्रेडलिंक प्रालिको नाममा आयात भएको ठूलो परिमाणको सुन बरामद गरेपछि यति धेरै सुनको ‘मालिक’ एक साधारण कुल्ली भएको पत्ता लागेको हो ।
मोटरसाइकल र स्कुटरको ब्रेक सु भनी ल्याइएको सामानभित्र रहेको सामान ब्रेक सु नभएर सुन रहेको कुरा परीक्षणपछि पुष्टि भएलगत्तै भन्सार एजेण्टलाई केरकार गरी सामान आयात गर्नेको खोजी गर्दा कम्पनी दिलिप भुजेलको नाममा रहेको पाइएको थियो ।
कसरी पक्राउ परे दिलिप ?
दिलिप भुजेलको स्वामित्वमा रहेको कम्पनी भनिएपनि दिलिपबारे विभागको टोलीलाई अरु जानकारी थिएन । त्यसपछि दिलिपको बारेमा जानकारी बटुल्दै विभागकै अनुसन्धान अधिकृतले दिलिपसँग सम्पर्क गरेका थिए । सुरुमै कम्पनीको कुरा गर्दा दिलिप फरार हुनसक्ने डरले विभागको टोलीले युवतीको प्रयोग गरेर फिल्मी शैलीमा दिलिपलाई पक्राउ गरेको हो ।
बुधबार अपरान्हदेखि दिलिपको मोवाइलमा एक युवतीको बारम्बार फोन आउँछ । साँखुमा ठूलीआमाको डेरामा बस्दै आएका दिलिपले युवतीलाई आफूले नचिन्ने भन्दै आए । तर, ती युवतीले भने दिलिपलाई चिन्छु भन्दै फकाइरहिन् ।
बेलुका दिलिपलाई भेट्नका लागि ती युवती साँखुमै आउने निधो गरिन् । युवतीले ट्याक्सी नै लिएर भेट्न आएपछि दिलिप पनि कोठाबाट निस्किए । रातको करिव ९ बजे कोठाबाट निस्किएका दिलिपले आफू प्रहरीको कब्जामा परेको पत्तै पाएनन् ।
२० हजार रुपैयाँको लोभ
दिलिपले रेडी टे«डलिंक नाम कम्पनी २० हजार रुपैयाँ लिएर कसैका लागि खोलिदिएका थिए । स्वयम्भुमा एक तिब्बतीयन नागरिकको घरमा सहयोगीका रुपमा काम गर्दै आएका दिलिपका मामा राजकुमार भुजेलले कम्पनी खोल्ने र त्यसवापत २० हजार रुपैयाँ आउने भनेपछि दिलिपले त्यही लोभमा आफ्नो नाममा अरुकै योजना अनुसार रेडी ट्रेडलिंक नामक कम्पनी खोलिदिएका थिए ।
रामकुमार भुजेलले भने अनुसार नै दिलिपले कम्पनी खोलेपनि कम्पनी र त्यसको कारोबार भने मामाले कसलाई दिएका थिए त्यो पनि उनलाई थाहा छैन । यद्यपि कम्पनी खोलेर बैंक खाता खोलेर चेकहरु आएपछि चेकमा हस्ताक्षर गरेर दिने र अन्य सबै काम गरेपछि दिलिपलाई २० हजार रुपैयाँ दिइएको थियो ।
प्रारम्भिक रुपमा कम्पनीको साहुजी देखिएका दिलिप कसैको भरिया बनेको प्रष्ट हुन्छ । हुन त कानुनले जुन कम्पनीबाट अवैध रुपमा सुन भित्रियो त्यही कम्पनीको सेयर होल्डरलाई नै साहुजी देख्छ । तर, एक सामान्य ज्यामी काम गर्नेले अवैध कारोबारको यत्रो साम्राज्य खडा गर्न सक्दैन । त्यसैले अनुसन्धान गरिरहेको निकायले दिलिपलाई मोहरा बनाएर अवैध कारोबारको साम्राज्य खडा गर्न खोज्नेहरु को हुन् ? छिट्टै बाहिर ल्याउन जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया