प्रेमदिवस स्पेशल: पूर्वेली कुशल र पश्चिमेली ताराको ‘परफेक्ट’ म्याच, यसरी जम्यो जोडी (भिडियो सहित)

‘परफेक्ट’ शब्दले ‘परफेक्टली’ व्याख्या गर्छ कुशल श्रेष्ठ र तारा गुरुङको जोडीलाई । अन्तर्राष्ट्रिय कराँते खेलाडी कुशल श्रेष्ठ र तारा गुरुङ नेपाली खेलकुदमा जमेको जोडी हो ।

उत्कृष्ट खेलाडी, राम्रा प्रशिक्षक, कुशल व्यवस्थापक र सहयोगी स्वभाव यो परिचय हो कुशल श्रेष्ठको । त्यस्तै सरल, शान्त र मायालु स्वभाव छ तारा गुरुङको । 

१६ वर्ष अगाडी मायालाई विवाहमा परिणत गरेका यो जोडी भन्छन्, ‘खेलले नै जोड्यो हामीलाई ।”

कुशलले मुस्कुराउँदै भने, ‘हामीलाई कराँतेले नै भेटाएको हो । ’

थोरै बोल्ने बानीले तारालाई कुशतलप्रति आकर्षित ग-यो । 

कुशल भन्छन्, “ताराको त मलाई सबै कुरा राम्रो लाग्छ । मनमा जे छ उ त्यही मात्र बोल्छ ।”

खेलेर पनि राम्रोसँग जीवन निर्वाह गर्न सकिन्छ भन्ने उदाहरण पनि हो, यो जोडी ।

२० वर्षअघि काठमाडौंमा कराँते खेल्न आउँदा उनीहरूबीच देखादेख भएको थियो । तारा कुशलको लगन एवं मेहनतबाट प्रभावित थिइन् भने ताराको खेलप्रतिको जाँगर, सकारात्मक सोच एवं केयरिङवाट प्रभावित थिए कुशल ।

कुशलले पहिलो पटक तारालाई भेट्दा उनले कराँते ड्रेसमा नै देखेका थिए । माया त बस्यो तर समाजले अन्तर्जातीय विवाह स्वीकार गर्ने अवस्था भने थिएन । 

कुशलले भने, “मेरो परिवारलाई त सम्झाउन सजिलो भयो तर उसको परिवारमा चाहि गाह्रो थियो ।” उनले हाँस्दै थपे, “पूर्वको मान्छेहरुलाई फटाह भन्ने चलन पनि थियो त्यही भएर पनि पहिला स्वीकार्न गाह्रो भयो । अहिले दुवै परिवारमा राम्रो छ ।”

ताराले भनिन्, “मेरो भाई बहिनीसँग कुशलको पहिलानै भेट भइसकेको थियो । उसको बानीहरु सबै राम्रो थियो उहाँ धेरै ज्ञानी हुनुहुन्थ्यो त्यही भएर पनि सजिलो भयो ।” 

तारालाई कुशलको फकाउने बानी तारालाई राम्रो लाग्छ । भनिन्, “मेरो गल्ती भएर म रिसाउदा पनि उहाँले नै फकाउनु हुन्छ ।”

कुशलले भने,' तारा रिसाएको मलाई मन पर्छ ।' 

श्रीमान् श्रीमती भन्दा पनि उनीहरु एक अर्काको मिल्ने साथी हुन् । विवाह भन्दा अगाडी घुम्नजाँदा उनीहरुवीच कराँतेको मात्र कुरा हुन्थ्यो ।  

उनीहरु वैवाहिक जीवनमा बाधिएको १६ वर्ष भयो तर आज पनि उनीहरुको एक अर्काको सबै भन्दा मिल्ने र प्रिय साथी भएको बताउँछन् । सम्बन्ध बलियो हुनेको आधार पनि विश्वास, सम्झौता र माया नै मान्छन् । लोकपथसँग कुराकानीको अन्तमा उनीहरुले एकैस्वरमा भने ह्याप्पी भ्यालेनटाईन डे । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?