मकवानपुरबाट छ महिनाभित्र दुई अर्ब राजश्व असुल

हेटौँडा । प्रदेश नं ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विभिन्न स्रोतको राजश्वतर्फ कूल दुई अर्ब २६ करोड ७४ लाख र ५५ हजार राजश्व असुली गरेको छ । 

सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी एक अर्ब ३७ करोड ७३ लाख ९८ हजार राजश्व असुली गरेको छ । यसैगरी आयकरतर्फ ४२ करोड चार लाख २५ हजार, मूल्य अभिवृद्धि करतर्फ ३२ करोड ९८ लाख ९३ हजार, ब्याज करतर्फ २५ लाख ५२ हजार ४ सय, घर बहालतर्फ १५ लाख ९३ हजार असुली भएको छ । 

स्वास्थ्य करतर्फ १० लाख १३ हजार ४ सय र शिक्षा करतर्फ १८ लाख ९७ हजार राजश्व असुली गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । 
हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमध्ये गोर्खा लाहिरी ‘चुरोट’ उद्योग प्रा.लिले सबैभन्दा बढी राजश्व ६१ करोड ९० लाख र एशियन पेन्ट्स प्रालिले रु २६ करोड ९१ लाख राजश्व बुझाएको छ । 

यसैगरी अन्य उद्योगतर्फ नेपाल ब्रुअरी प्रालिबाट २२ करोड ९३ लाख, युनिलिभर प्रालिबाट ११ करोड २० लाख र शिवम् सिमेन्ट उद्योगबाट आठ करोड सात लाख राजश्व प्राप्त भएको छ । 

हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा रहेका स्थानीय बजारमा पटक–पटक अनुगमन गरी वक्यौता रहेको रकममध्ये  ८९ करोड ६० लाख राजश्वमा थप असुली गरिएको आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख वसन्त ढकालले  जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?