कान्तिभित्रको अनियमितताको सूचना बाहिर ल्याउने पत्ता लगाउन छानबिन समिति गठन

काठमाडौं । कान्ति बाल अस्पतालभित्रको अनियमितताको सूचना दिने कर्मचारी पत्ता लगाउन छानबिन समिति गठन भएको छ । लोकपथले निरन्तर अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बिचौलियाको आडमा कान्तिभित्र अनियमितता गरेको समाचार सप्रमाण सार्वजनिक गरेसँगै उक्त सूचना दिने कर्मचारी पत्ता लगाउन भन्दै छानबिन समिति गठन गरिएको हो ।

अस्पताल विकास समितिका सदस्य कपिलदेव लामिछाने संयोजक रहेको उक्त समितिमा ४ जना सदस्य रहेका छन् । जसमा डा. रामहरी चापागाईं, प्रमिला देवाङ्ग र कानुनी सल्लाहकार भुवन दाहाल सदस्य रहेका छन् ।

समितिका एक सदस्यले लोकपथसँग कुराकानी गर्दै अस्पतालभित्रको अनियमितता छानबिन गर्न नभई सूचना लिक गर्ने कर्मचारी पत्ता लगाउने कार्यादेश आफूहरुलाई दिएको बताए । ‘हामीलाई अस्पतालको स्टोर, खरिद र आर्थिक शाखाको बिल तथा कागजात कसले बाहिर लग्यो त्यो कर्मचारी पत्ता लगाउने कार्यादेश दिइएको छ,’ ती सदस्यले भने, ‘हामीलाई अनियमितता नै छानबिन गर्ने अधिकार दिनुस् भन्दा अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतम र अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पहिला सूचना लिक गर्ने कर्मचारी पत्ता लगाऔँ त्यसपछि अर्को समिति बनाउँला भन्नुभयो ।’

छानबिन समितिलाई दिएको पत्रमा भनिएको छ, ‘अस्पतालको कार्यसम्पादनसँग सम्बन्धित आर्थिक, प्रशासनिक, तथा अन्य विभिन्न विषयसँग सम्बन्धित महत्वपूर्ण कागजात तथा फाइलहरु अनाधिकृत रुपमा पत्रपत्रिका, अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा प्रकाशन तथा सम्प्रेषण गर्ने कार्य विगत समयदेखि बारम्बार दोहोरिरहेकाले उक्त अत्यावश्यक र गोपनियता कायम गर्नुपर्ने कागजात ती अनाधिकृत व्यक्ति तथा मिडियाको पहुँचमा के कसरी पुग्न गएको हो र सो कार्यमा संलग्न व्यक्ति तथा कर्मचारीहरुको पहिचान गरी पाँच दिन भित्र सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्नुहुन अधिकार सम्पन्न छानबिन समिति गठन गरिएको व्यहोरा अनुरोध छ ।’

जबकि, सूचनाको हकअन्तर्गत पाउने खरिद गरिएका बिलहरु प्रमाणसहित सार्वजनिक हुँदा सूचना कहाँबाट बाहिर गयो भनि पत्ता लगाउन छानबिन समिति गठन गर्नु आफैंमा हास्यास्पद विषय हो । जबकि अस्पतालभित्र खरिद गरिएका सम्पूर्ण औषधि तथा सामग्रीको अन्तिममा लेखा परीक्षण हुने र सोकुरा सार्वजनि हुनेसमेत अस्पतालको बागडोर सम्हालेका व्यक्तिलाई थाहा नहुनुले नेतृत्वमाथि आशंका गर्ने ठाउँ प्रशस्त भेटिन्छन् ।

छानबिन समितिले कसरी गर्दैछ काम ?

गत साउन १८ गते बनेको छानबिन समितिले काम शुरु गरेको छ । प्रश्नावली तयार गरी लेखा, खरिद र स्टोरका कर्मचारीलाई सोध्ने तयारी गरिएको समितिका सदस्यले लोकपथलाई जानकारी दिए । ‘हामीले कर्मचारीलाई सोध्नका लागि प्रश्नावली तयार गरिसकेका छौँ,’ उनले भने, ‘स्टोर, लेखा र खरिद शाखाका कर्मचारीले ४८ घण्टाभित्र लिखित स्पष्टिकरण दिनुपर्नेछ ।’

यदि कर्मचारीले दिएको स्पष्टिकरण चित्त नबुझेमा पुनः मौखिक रुपमा समेत सोधिने उनले बताए । ‘हामीले पहिला लिखित जवाफ माग्छौँ,’ उनले भने, ‘यदि त्यसमा चित्त बुझेन भने मौखिक रुपमा पनि स्पष्टिकरण लिनेछौँ ।’

पाँच दिनको म्याद पाएको छानबिन समितिले कर्मचारीसँग सोधपुछ लगायतका स्पष्टिकरण लिएर अस्पताल विकास समितिलाई प्रतिवेदन बुझाउने छ । उक्त प्रतिवेदनको अध्ययन गरी विकास समितिले आवश्यक कारवाही अघि बढाउने ती सदस्यले लोकपथलाई जानकारी दिए ।
कर्मचारीलाई मानसिक दबाब !

अनियमितता बाहिरिएपछि अत्तालिएका निर्देशक डा. बसौलाले यतिबेला अस्पतालका विभिन्न शाखाका कर्मचारीलाई व्यक्तिगत रुपमा थर्काउँदै मानसिक रुपमा दबाबसमेत दिन थालेको स्रोतले जनाएको छ ।

लोकपथले सप्रमाण बुधबार समाचार सार्वजनिक गरेपछि डा. बसौलाले बिहिबार नै अस्पतालको विशेष बैठक बोलाएर कर्मचारीलाई थर्काएका थिए । बैठकमा उनले अस्पतालको सूचना लिक गर्नेलाई सिआइबीको सहयोगमा मोबाइलको कल डिटेल चेक गर्ने भन्दै धम्कीसमेत दिएका छन् । उनले यो कुरा लोकपथको भिडियो कुराकानीका क्रममा समेत भनेका थिए । बिहिबार नै लोकपथसँगको कुराकानीका क्रममा उनले भनेका छन्, ‘अस्पतालको गोपनियता भंग गरेर सञ्चारमाध्यममा कसले सूचना दियो त्यो सीआइबीमा उजुरी गरेर सत्यतथ्य पत्ता लगाउँछौँ । यो नेपाल हो जे पनि हुन्छ ।’

तर, अदालतको अनुमति बिना कसैको पनि व्यक्तिगत कल डिटेल निकाल्ने अधिकार स्वयम् सीआइबीलाईसमेत छैन ।

मन्त्री आउने खबरले निर्देशकले बिचैमा रोके बैठक

गत बिहिबार बैठक चलिरहेकै बेलामा डा. बसौलालाई कसैले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत कान्ति बाल अस्पतालको अनुगमनका लागि आउन लागेको सुइँको पाएपछि बिचैमा बैठक रोकेको एक कर्मचारीले बताए । ‘अस्पतालको सूचना मिडियालाई कसले दियो भन्दै कर्मचारी थर्काउँदै हुनुहुन्थ्यो त्यही बेलामा मन्त्री आउँदै गरेको भन्दै कसैले उहाँलाई फोन गर्यो,’ उनले भने, ‘त्यसपछि मन्त्री आउने रे मन्त्री भन्दै हतार हतारमा बैठक कक्षबाट बाहिरिनुभयो ।’

यद्यपि, मन्त्रालयबाट कान्ति अस्पतालको छानबिन गर्न भन्दै निस्किएका मन्त्री बस्नेत कान्तिमा छिर्न भने सकेनन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वले कान्तिको अनुगमन गरेको थियो ।

याे पनि पढ्नुहाेस् :
बिचौलियाको आडमा कान्ति अस्पताललाई दुहुनो गाई बनाउँदै निर्देशक डा. बसौला
कान्ति अस्पतालमा बेथितिका चाङ, निर्देशककै स्वार्थमा अस्पतालको वार्ड नै बन्द ! (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?