बलात्कार प्रयासलगत्तै इन्स्पेक्टरको निवासमा छिर्ने व्यक्ति आखिर को हुन् ?

काठमाडाैं । इलाका प्रहरी कार्यालय खानीखोलाको महिला ब्यारेकभित्रै २०७९ असोज १४ गतेको राती प्रहरी जवानमाथि बलात्कारको प्रयास भयो । एकदिन अघिमात्र प्रहरी कार्यालयमा हाजिर भई कामकाज सुरु गरेकी परिवर्तित नाम सञ्जिता चौधरी (मिसिलमा परिवर्तित नाम धादिङ २४(२३०)०७९।०८०) माथि असोज १५ गतेको बिहान १ बजेर १२ मिनेटको समयमा बलात्कारको प्रयास भएको थियो ।

प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर रानीबाट भर्खरै भिड नियन्त्रण तालिम सकेर रवाना लिई जिल्ला प्रहरी कार्यालय धादिङमा उनको पोष्टिङ भएको थियो । असोज १३ गते धादिङमा पत्र बुझाएकी उनले असोज १४ गतेदेखि ईलाका प्रहरी कार्यालय खानीखोलामा कामकाज सुरु गरेकी थिइन् । असोज १४ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म राजमार्गको ड्युटी सकेर उनी कार्यालय पुगिन् । कार्यालयमै साँझको खाना खाएर केही समयपछि उनी सुत्नका लागि कार्यालयभित्रैको महिला ब्यारेकमा गएर सुतिन् ।

सोही राती सञ्जिता चौधरीलाई असहज महसुस भयो । केही समय अगाडि मात्रै विवाह गरेकी ती प्रहरी जवान ब्युँझिइन् । ब्यूझँदा उनीसँगै कुनै पुरुष सुतिरहेको पाइन् । उनीसँगै सुतिरहेका पुरुषले ती महिला प्रहरी जवानको यौन अङ्गमा हातले चलाइरहेको पाइन् भने ती जवानको हात आफ्नो उत्तेजित अङ्गमा लगेर राखिदियो । त्यसपति आत्तिएकी सञ्जिता चिच्याउन खोजिन् । तर ती पुरुषले सञ्जिताको मुख थुनिदिन्छन् । त्यसपछि सञ्जिाताले नजिकै सुतेकी अर्की प्रहरी जवान प्रमिता मिश्रलाई हातले धकेलेर उठाइन् । त्यसलगत्तै ती पुरुष चुप लाग म गइहाल्छु भनेर बाहिर निस्किए ।

बाहिर निस्कएका ती पुरुष महिला ब्यारेकको ढोकाबाट माथि जाने भर्याङ चढी महिला ब्यारेको ठीक माथि रहेको प्रहरी निरीक्षकको आवासतर्फ गए । भर्याङको बत्ती बलि रहेको कारण ती पुरुषको शरीर मोटो, मझौला उचाई र सेतो धर्का भएको रातो कट्टु र निलो टिसर्ट लगाएको देखियो । तत्काल व्यक्ति पहिचान गर्न नसकेपछि सञ्जिताले सोही ब्यारेकमा सँगै सुतेकी प्रहरी जवान लक्ष्मीका थेंगिमलाई रिपोर्ट गरिदिन आग्रह गरेपछि उनले उक्त कुरा सुबेदार मेजर रामहरि खड्कालाई जाहेर गरिन् । तर, रातको समयमा महिला ब्यारेकमा भएको बलात्कार प्रयासजस्तो गम्भीर घटनालाई सुबेदार मेजर रामहरि खड्काले हल्कारुपमा लिँदै ‘भोलि बिहान सुनुवाई गरौंला’ भन्दै टारिदिए । तर, बलात्कार हुनबाट जोगिएकी सञ्जितामा छटपटी झनै बढ्यो । त्यसलगत्तै सञ्जिताले उनका श्रीमानलाई फोन गरी घटनाबारे जानकारी गराइन् । सञ्जिताका श्रीमानले राती नै जिल्ला प्रहरी कार्यालय धादिङ, प्रदेश प्रहरी कार्यालय बागमती आदिमा घटनाबारे जानकारी गराए ।

त्यसको भोलिपल्ट बिहान ८ बजे कार्यालयमै सबैलाई सामेल गराइयो र इन्सपेक्टर अपूर्व ढुङ्गानाले ‘यस विषयमा केही पिर चिन्ता लिनु पर्दैन, घरको कुरा अन्त कतै जाहेर नगर, ढुक्क भएर बस एक दुई हप्तामा छानबिन गरी कारबाही गरौँला’ भन्ने जवाफ दिए । जब ढुङ्गाना बोले तब सञ्जितालाई हिजो राती आफूमाथि बलात्कारको प्रयास गर्ने व्यक्ति इन्सपेक्टर ढुङ्गाना नै रहेको पत्तो लाग्यो । राती पछाडिबाट देखेको शरीर र बिहान देखेको शरीर एउटै हो भनि छुट्याउन गाह्रो भएन । अनि प्रहरी निरीक्षकको निवासमा कार्यालय प्रमुखबाहेक अरु कोही जान नसक्ने यकिन भएपछि आफूमाथि जबरजस्ती करणी गर्ने व्यक्ति तिनै इन्सपेक्टर ढुङ्गाना हुन् भन्ने यकिन गरिन् । त्यसलगत्तै उनले जिल्ला प्रहरी कार्यालय धादिङमा ढुङ्गानाविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दिइन् ।

सञ्जिताको जाहेरी आएलगत्तै प्रहरीले इन्सपेक्टर ढुङ्गानालाई जिल्ला प्रहरी कार्यालय धादिङवेशी बोलायो । पहिलो दुई दिन प्रारम्भिक छानबिन गरेपछि घटनामा संलग्न व्यक्ति तिनै ढुङ्गाना हुन् भन्ने यकिन गर्यो । बलात्कारको प्रयास भएको समयमा ढुङ्गानाले लगाएको सेतो धर्सा भएको रातो कट्टु र निलो टिसर्ट पनि ढुङ्गानाकै निवासबाट बरामद गरी पीडित र भाग्दै गर्दा देख्ने प्रमिता मिश्रसँग सनाखत गरायो । अनि उक्त दिन राती प्रहरी निरीक्षकको कोठामा प्रवेश गर्न सक्ने अरु व्यक्ति कोही छ कि भनेर अनुसन्धान गर्दा इन्सपेक्टर बाहेक अरु कुनै व्यक्ति नभएको यकिन गरी घटनाको केही समयपछि नै इन्सपेक्टर ढुङ्गाना कपडा फेरेर निवासबाट बाहिर निस्किएको पुष्टि भयो । त्यसलगत्तै ढुङ्गानालाई पक्राउ गरी अनुसन्धान सुरु गर्यो ।

तर, प्रमाण नष्ट गर्न र आफू अनुकुल बयान गर्न माहिर ढुङ्गानाले घटनामा आफ्नो संलग्नताबारे इन्कारी बयान दिए । अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा ढुङ्गानाले भनेका छन्, ‘नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत प्रशासन विभाग नक्साल, काठमाण्डौको च.नं. १३१९ मिति २०७८/०८/१० गतेको, रवाना पत्रले मिति २०७८/०८/११ गते ईलाका प्रहरी कार्यालय खानिखोला धादिङमा कार्यालय प्रमुखको रुपमा हाजिर भई प्रहरी निरीक्षक दर्जामा कार्यरत रहेको छु । वारदात समयमा म कार्यालयको आँफै सुत्ने कोठामा थिएँ । महिला प्रहरी ब्यारेकबाट मेरो निवास एक फल्याट माथि रहेको छ, कार्यालय भित्र प्रवेश गरेपछि भ¥याङदेखि महिला ब्यारेक तथा मेरो निवाससम्म कुनै सीसी क्यामेरा छैन । मिति २०७९/६/१४ गते राती अन्दाजी २२ः३० बजे तिर म बेडमा सुते । मिति २०७९/०६/१५ गते बिहानको राती अ.०२ः१५ बजेको समयमा बिरामी छोरालाई भेट्न भनी चालक जीवन अधिकारीलाई बोलाई गाडी लिएर मेरो घर काठमाडौं मनमैजुमा गएको थिएँ । बिरामी छोरालाई भेटि मिति २०७९/०६/१५ गते अन्दाजी ०७ः४५ बजे तिर कार्यालय आई पुगेको थिएँ होला । मैले उक्त घटना घटाएको होइन किन पीडितले मेरो विरुद्धमा उजुरी दिइन् थाहा भएन ।’

तर ढुङ्गानाले थाहा भएन भनेपनि घटनामा संलग्न व्यक्ति कार्यालय प्रमुख अपूर्व ढुङ्गाना नै हुन् भनि सई रामहरी खड्का प्रहरी जवानहरु दिप्ताका खड्का, नविना देवकोटा, सर्जु थारु, लक्ष्मिका थेंगिम, सहायक हवल्दारहरु भक्त बहादुर झेडी, जिवन अधिकारी र असई अनिल कुमार चौधरीले कागज गरे ।

घटनाका प्रत्यक्ष साक्षी प्रमिता मिश्रले बयान गर्ने क्रममा पनि आफूहरु अघिल्लो दिनमात्रै हाजिर भएकाले व्यक्तिहरु नचिनेको, भर्खरै तालिम सकेर आएको र दिनभरको ड्युटी सकी थाकेर सुतेको कारण व्यक्ति पहिचान हुन नसकेको तर निलो टिसर्ट र रातो हाफ कट्टु लगाएको व्यक्तिले बलात्कारको प्रयास गरी चिच्याउन खोजेपछि भागेर इन्सपेक्टरको कोठामा गएको र भोलिपल्ट देख्दा ती पुरुष इन्सपेक्टर अपूर्व ढुङ्गाना नै भएको बताएकी छिन् ।

घटना विवरण कागज गर्ने व्यक्तिहरु, इन्सपेक्टर ढुङ्गानाको कोठाबाट बरामद भएको सामानहरु आदि सबैको सनाखत गरिसकेपछि जिल्ला प्रहरी कार्यालय धादिङले आफ्नै बहालवाला इन्सपेक्टरमाथि जबरजस्ती करणी उद्योगमा सरकारी वकिलमार्फत् धादिङ जिल्ला अदालतमा मुद्दा दायर ग¥यो । मुद्दा दायर गर्दा इन्सपेक्टर घिमिरेलाई मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ङ अनुसार १० वर्षसम्म हुने कैदमा वारदात हुन नपाई बलात्कारको प्रयास मात्रै भएकाले त्यसको आधा अर्थात् ५ वर्ष कैद र सोही संहिताको दफा २२२ अनुसार आफ्नै संरक्षणमा रहेकी महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको कारण थप ३ वर्षको आधा अर्थात् डेढ वर्ष गरी कुल साँढे ६ वर्षको कैद सजायको मागदावी लिइयो ।

२०७९ कात्तिक १४ गते दर्ता भएको उक्त मुद्दामा धादिङ जिल्ला अदालतले सुनुवाइमा अति धेरै चासो दिएको देखिन्छ । मुद्दा दर्ता भएको ४ महिना पनि पूरा नहुँदै हतारहतारमा सुनुवाइ गरेर २०७९ फागुन ११ गते इन्सपेक्टर ढुङ्गानालाई अभियोग दावीबाट सफाई दिइएको छ । धादिङ जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले प्रहरी कार्यालयभित्रै भएको बलात्कारको घटनालाई पत्यारलाग्दो नदेखिएको भन्दै प्रतिवादी ढुङ्गानालाई उन्मुक्ति दिएको छ । धादिङ जिल्ला अदालतमा इन्सपेक्टर ढुङ्गानाले बयान दिने क्रममा आफू वारदात भएको दिन बिहान २ः१५ बजे छोरा बिरामी भएकाले काठमाडौंको मनमैजुमा रहेको घरमा गएको बयान दिएका छन् ।

उनले अदालतमा दिएको बयानको केही अंश यस्तो छ, ‘उक्त जाहेरवालीलाई कसैले त्यस्तो घट्ना घटाएको हो भन्ने कुरा रातको समयमा मैले थाहा पाइन । मलाई कसैले जानकारी पनि गराएका थिएनन् । बिहान करिब ५ः४५ को समयमा सञ्चार शाखाले मलाई महिला ब्यारेकमा कोही मानिस पसेजस्तो छ भनि जानकारी गराएपछि त्यसपछि कार्यालय प्रमुख भएको नाताले के भएको रहेछ भनि काठमाडौंबाट म तत्काल बिहान ६ः३० बजेको समयमा कलंकीमा आइपुग्दा एस.पी.सरले फोन गर्नु भयो । कहाँ आईपुग्नु भयो भनी सोध्नु भएकोले म कलंकीमा आउँदै छु भने । तत्काल तपाई अलिक छिटो अफिस आउनु होला र सो घटनाको बारेमा के भएको हो मलाई जानकारी गराउनु भन्नु भयो । मिति २०७९/६/१५ गते करिव ७ः४५ बजे खानीखोला कार्यालयमा आइपुगेपछि मैले जानकारी लिने क्रममा एस.पी. सरले घटनामा पीडित भनिएकी महिला प्रहरीलाई तत्काल जिल्ला प्रहरी कार्यालय धादिङमा पठाउनु भन्नु भएकोले मैले पीडित महिला प्रहरीलाई जिल्ला प्रहरी कार्यालय धादिङमा पठाएको थिएँ । सोही दिन बेलुका मलाई एस.पी. सरले गाडी लिएर जिल्ला प्रहरी कार्यालयमा आउनु भन्नु भएकोले म सोही दिन १५ गतेको वेलुका ५ः४५ बजेको समयमा आएर प्रहरी निरीक्षक निवासमा नै बसेकोमा म सँग केही पनि छलफल भएन । सोही दिनको बेलुका ५ः४५ बजेको समयमा मलाई मुद्दा फाँटको प्रहरी निरीक्षकले तपाईं उपर जाहेरी परेको छ, हिरासतमा राख्नुपर्यो भनि मलाई हिरासतमा लिएका थिए । मिति २०७९/६/१५ गतेको दिन काठमाडौंबाट कार्यालयमा आएपछि घटनाको बारेमा महिला प्रहरीसँग सोधपुछ गर्दा उक्त महिला प्रहरी आवासमा ६ जना महिला प्रहरी सुतेका थिए भन्ने जानकारी पाएँ । महिला सुत्ने एउटै कोठा रहेको थियो, सोही कोठामा सुतेका रहेछन् । आवास घर र महिला आवासको घर एउटै घरको भुइँतला र माथिल्लो तलामा रहेको छ । ड्युटी सिध्याएर आएका प्रहरीहरु ५–६ जना सुत्ने गर्दछन् । बरामद भएका सामानहरु मेरा हुन् । मलाई हिरासतमा लिएपछि ७ दिनपछि तपाईंको सामान बरामद भएको छ भनि मलाई कागजमा सही गराएका हुन् । मेरो अगाडि बरामद भएको होइन । निज पीडित भनेकी प्रहरी महिला एकदिन अगाडी मात्र हाजिर हुन आएकीले मैले के कपडा लगाउँछु, के खान्छु भन्ने जानकारी पाएको पनि हँुदैन । कसैले मलाई फसाउने उद्धेश्यले कसैको उक्साहटमा षडयन्त्र गरी निजलाई उचालेर यस्तो जाहेरी दिएको हो । मेरो संलग्नता छैन ।’

यसरी इन्सपेक्टर ढुङ्गानाले बलात्कार प्रयासको घटनामा आफ्नो संलग्नता नरहेको भन्दै प्रहरी र अदालतमा इन्कारी बयान दिए । तर, पहिले पीडितको तर्फबाट साक्षी बस्ने सबैले अदालतमा बयान गर्ने क्रममा घटनामा संलग्न व्यक्ति इन्सपेक्टर ढुङ्गाना नै हुन् भनि बयान गरेका छन् ।फैसलाको प्रकरण ३९ मा इन्सपेक्टर ढुङ्गानाले वारदात गरेका हुन् भन्ने आशयकै ब्यहोरा उल्लेख गरिएको छ । प्रकरण ३५ मा भनिएको छ, ‘मौकाका साक्षीहरुको भनाईहरुलाई हेर्दा जाहेरी समर्थन हुनेगरी व्यहोराहरु लेखाएको पाइन्छ । अधिकांश मौकाको कागजलाई हेर्दा अन्य कुराहरुको अतिरिक्त प्रतिवादी वारदातको दिन महिला ब्यारेकमा गएका, पीडितलाई समाएका पीडितको भनाई अनुसार निलो भेष्ट र रातो कट्टु लगाउने मानिस प्रतिवादी नै हुन् । प्रतिवादी अत्याधिक मदिरा सेवन गरी स्टाफलाई गाली गर्ने गर्दथे भन्ने एउटै मिलानको व्यहोराबाट अधिकांश मौकाको कागज खडा भएको पाइन्छ । अर्थात प्रहरी कार्यालयको कर्मचारीहरुको भनाई व्यहोराहरुमा विविधता नभई वादी नेपाल सरकारले एकमुष्ट रुपमा व्यहोरा बनाएको अवस्था छ ।’

फैसलाको प्रकरण ४१ मा प्रतिवादीले घटना गराएकै होइन भन्ने आशयमा बिरोधाभास देखिएको ब्यहोरा उल्लेख छ । फैसलाको प्रकरण ४१ मा भनिएको छ, ‘जाहेरवालीको अदालत समक्षको बकपत्रमा जाहेरी व्यहोरा ठीक हो भनि बकपत्र गरेकोमा निजको मौकाको भनाई र बकपत्रको स.ज. ७ लाई हेर्दा निजको मौकाको जाहेरीमा राती खाटमा आफूसँग बोल्ने मानिस प्रतिवादी हुन भनि बिहान प्रतिवादीले बोलेको आवाज सुनेपछि मात्र यकिन भयो भनि लेखाएकोमा सो स.ज. ७ को प्रश्नमा खानीखोलामा आफू हाजिर भएपछि त्यहाँको प्रमुख प्रतिवादीसँग भेटघाट बोलचाल के रह्यो भनि सोधिएको प्रश्नमा बकपत्र जवाफ ब्यहोरामा मिति २०७९/६/१३ गते बेलुकीपख बोलचाल कुराकानी भएको थियो । नाम सोध्नु भएको थियो भनेबाट निजको मौकाको जाहेरी र बकपत्र व्यहोराको माथिको भनाई आफैमा विरोधाभाषपूर्ण छ, किनभने निजको मौकाको भनाई हेर्दा बिहान ८ बजेको समयमा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सामेल गरी प्रहरी निरीक्षक अपूर्व ढुङ्गानाले यस विषयमा केही पिरचिन्ता लिनु पर्दैन, घरको कुरा अन्त कतै जाहेर नगर, ढुक्क भएर बस । एकदुई हप्तामा छानबिन गरी कारबाही गरौंला भनि ब्रिफिङ गर्नु भएपछि निजको स्वरबाट म माथि राती घटना घटाउने मानिस प्रहरी निरीक्षक अपूर्व ढुङ्गाना रहेको प्रष्ट भए भनेकोमा प्रतिवादीसँग अगाडि नै बोलचाल भएकोमा मौकामा बोल्ने मानिस बिहान ८ बजे मात्र चिनेको भन्ने भनाई आफैँमा बिरोधाभाषपूर्ण भयो ।’

यो प्रकरणमा अदालतले आफू उपस्थित भएर रमानको पत्र बुझाउन गएको व्यक्तिले एकैपटक देखेको व्यक्ति तत्काल चिनिन्छ । चिनिन्न भन्नु बिरोधाभासपूर्ण भनिएको छ । यद्यपि घटनाको समयमा कोठाभित्रको बत्ती मारिएको थियो भने कोठाबाट बाहिर निस्कँदा ती व्यक्तिको अनुहार देखिएको थिएन ।

त्यस्तै फैसलाको प्रकरण ४५ मा इन्सेक्टरलाई जोगाउनका लागि बरामदी सामान तत्काल बरामद नगरी किन पछि बरामद गरिएको भन्ने प्रश्न अदालतले गर्दै प्रमाणका रुपमा लिन नसकिने आशय व्यक्त गरेको छ । फैसलाको प्रकरण ४५ को केही अंश यस्तो छ, ‘बरामद भएको भनिएका सामानहरु मलाई जिल्ला प्रहरी कार्यालय धादिङमा हिरासतमा लिएपछि मेरो आवासबाट बरामद भएकाले मैले कुनै कसूर गरेको छैन भनी कसूरमा पूर्णत इन्कार रही मौका र अदालत समक्षको बयान व्यहोरामा लेखाइ दिएको पाइन्छ । प्रमाणहरु विरोधाभाषपूर्ण भएको भन्ने पहिलो प्रश्नको निचोड हो ।

त्यसैगरी फैसलाको प्रकरण ५० मा वष्तुनिष्ठ प्रमाणको अभावमा दोषी ठहर गर्न नसकिने उल्लेख गरिएको छ । फैसलाको प्रकरण ५० मा भनिएको छ, ‘जाहेरवालीले प्रतिवादीलाई घटनाको समयमा यही व्यक्ति हुन भनी एकिन पहिचान गर्न सकेकी छैनन् । भोलिपल्ट सबै प्रहरी कर्मचारी भेला गराई यी प्रतिवादीले घटनाको सम्बन्धमा ब्रिफिङ गर्दाको स्वरलाई घटनाको समयको स्वरसँग दाँजी जाहेरी दिएको अवस्था देखिन्छ । घटना भएको बखत मौकामा प्रतिवादीको अनुहारको मुखाकृतिको पहिचान समेत गर्न सकेको देखिँदैन । प्रतिवादी काठमाडौं प्रस्थान गरी बिहान हाजिर भएपछि स्वरलाई घटनाको अवस्थाको पुरुष व्यक्तिले ‘चुपलाग गई हाल्छु’ भनि भनेको स्वर तुलनात्मक रुपमा मिलेको भनि जाहेरी व्यहोरामा लेखेकोमा ऐ. १३ गते नै प्रतिवादीको आवाज सुनेको हो भन्ने जाहेरवालीको विरोधाभाषपूर्ण बकपत्र भएबाट सोलाई मात्र आधार मानेर यिनै प्रतिवादीले घटना घटाएका हुन भनि ठोस र वस्तुनिष्ट प्रमाणको अभावमा घटनाको वास्तविकताको निष्कर्षमा पुग्न पनि सकिन्न ।’

त्यसैगरी फैसलाको प्रकरण ५१ मा यस्तो भनिएको छ, ‘सँगै सुतेका साक्षी भनिएका अन्य महिला प्रहरी कर्मचारी प्रमिता मिश्र समेतले यकिन गर्न नसकेको तथ्य आँफैमा शंकास्पद र पत्यारलायक नदेखिएको र स्वतन्त्र प्रमाणले पुष्टि गर्ने आधारको अभाव भएको अवस्थामा वादी नेपाल सरकारको अभियोग दाबीलाई यौन दुराचारतर्फ पनि निचोडमा पुग्न सकिँदैन । पीडितलाई यी प्रतिवादीले जबर्जस्ती करणी गर्न खोजेको भन्ने कुनै संकेत गर्ने ठोस प्रमाण वादी पक्षबाट पेश गर्न सकेको नदेखिएको, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा समेत कसूरजन्य कुनै प्रमाणयोग्य चिन्ह संकेत रहेको भन्ने नदेखिएको समेतका विवेचित आधार कारणहरुबाट यी प्रतिवादी अपूर्व ढुङ्गानाबाट अभियोग दावी बमोजिम जबरजस्ती करणीको उद्योगको कसूर गरेको भन्ने नदेखिएको एवं सोही संहिताको दफा २२४ बमोजिमको समेत कसूर भएको भन्ने शंकारहित तवरले पुष्टि हुने ठोस वस्तुनिष्ठ प्रमाणको अभाव रहेको देखिँदा यी प्रतिवादी अपूर्व ढुङ्गाना उपरको मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिम हुने कसूर अपराधको सन्दर्भमा ऐ. को दफा ३४ को उपदफा (१) र (२) बमोजिमको जबरजस्ती करणीको उद्योगको कसूरमा वादी नेपाल सरकारले लिएको अभियोग माग दावी पुष्टि हुन सक्दैन ।’

फैसलाको प्रकरण ५३ मा त अदालतले यतिसम्मको हास्यास्पद तर्क प्रस्तुत गरेको छ कि तत्कालै आफू कार्यरत चौकीलाई जानकारी नदिनुको कारण आफ्टर थट पो हो कि भन्ने कुरा उल्लेख गरेको छ । इन्सपेक्टर ढुङ्गानालाई सफाई दिन तयार पारिएको फैसलाको प्रकरण ५३ मा भनिएको छ, ‘अदालतमा प्रेसित प्रेस्कीप्सनले छोरा बिरामी भएको, काठमाडौं गएको र आएको तथ्य इंकित गर्दछ । फौजदारी मुद्दामा पीडितले मौकाको घटना उजागर गरे गराएको देखिँदैन । रातको समयमा भएको वारदातको विषयमा चौकीमा नै तुरुन्त सूचना दिई अनुसन्धान गर्न बाधा पर्ने छैन । तर केही समय गुज्रिएपछि स्थितिलाई विचार, लेखाजोखा गरेर पो जाहेरी दिइन् होला भन्ने प्रतित हुन्छ । वस्तुनिष्ट प्रमाणहरुले समर्थित हुन नसकेको तथ्यलाई टेकेर अदालतले आत्मनिष्ठ रुपमा कसूर ठहर गर्ने आधार बन्दैन ।’

अदालतले यस्तो कुतर्क गरेर अभियुक्तलाई सफाइ दिएपनि घटनालगत्तै पीडित रोएको, आफ्ना श्रीमान र सुबेदार मेजरलाई खबर गरेको लगायतको कुरा अदालतकै मिसिल र फैसलामै उल्लेख गरिएको छ ।

आफ्नै संरक्षणका रहेका महिला कर्मचारीलाई बलात्कारको प्रयास गर्ने इन्सपेक्टरमाथि कारवाही गर्नुको साटो एकदिन अगाडि मात्रै हाजिर हुन आएकी प्रहरी कर्मचारीको आफ्टर थट पो हो कि भन्दै अदालतले आशंका व्यक्त गरेको छ । अदालतले वारदात नै नभएको हो कि नभनेपनि प्रहरी कार्यालयभित्रै भएको बलात्कारको प्रयासलाई ढाकछोप गर्न खोजेको छ । इन्सपेक्टरले बलात्कारको प्रयास नगरेको भए कसले बलात्कारको प्रयास गरे त ? त्यसको खोजी न अदालतले गरेको छ, न खोजी गर्न नै भनेको छ । फेसला मात्रै इन्सपेक्टरलाई सफाइ दिनमा केन्द्रीत छ भने प्रहरी कार्यालयमा तत्कालै जानकारी गराएको विषयलाई समेत अदालतले नजरअन्दाज गरी जाहेरी नै दिएको छैन भनिएको छ ।

हेर्नुहोस्, फैसलाको पूर्णपाठ

याे पनि पढ्नुहाेस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?