काठमाडौं । लगानीकर्ताहरुको लागि धितोपत्र बजार यो साता खासै उत्साहप्रद देखिएन । साताको सुरुवाती कारोबार दिनदेखि नै उच्च अंकले घट्न थालेको नेप्सेले यो साता तेस्रो दिनसम्म निरन्तरता पाएको थियो ।
चौंथो दिन थोरै सम्हालिएको नेप्से पाँचौं दिन झिनो अंकले बढेको थियो । तर यो बढाईले नेप्से सुचक एवं कारोबार रकम दुबैमा लगानीकर्ताहरुको अपेक्षा अनुसार सुधार ल्याउन सकेन । फलस्वरुप नेप्से दुई हजार ६६ दशमलव शुन्य पाँच अंकमा पुगेर रोकिन पुग्यो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९४ दशमलव १५ अंकमा पुगेर रोकिन पुग्यो ।
नेप्सेमा यो साता दुुई सय ६९ वटा कम्पनीहरुको सेयर किनबेच भयो । जसअन्र्तगत तीन लाख १४ हजार नौ सय ११ पटकको कारोबारमा दुई करोड ४५ लाख २५ हजार नौ सय ६१ कित्ता शेयर खरिद बिक्री भए । सोही खरिद बिक्रीका आधारमा यो साता कुल कारोबार रकम १० अर्ब ८० करोड २६ लाख ४६ हजार चार सय ४९ रुपैंयाँ पुग्यो ।
यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक करोड रुपैयाँले मात्र बढी हो । गत साता यस्तो कारोबार रकम नौ अर्ब ८७ करोड ९७ लाख ३९ हजार एक सय ६१ रुपैंयाँ रहेको थियो । उक्त साता दुुई सय ६९ वटा कम्पनीहरुको दुई लाख चार हजार ७६ पटकको कारोबारमा तीन करोड २८ लाख ९९ हजार एक सय ५२ कित्ता शेयर किनबेच हुँदा उक्त परिमाणमा रकम कारोबार भएको थियो ।
दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा यो साता नियमित कारोबारको लागि पाँचै दिन नेप्से खुल्ला रहेको थियो । जसमध्ये पहिलो दिन ३८ दशमलव ३७ अंकले घटेर दुई हजार ५१ दशमलव ४७ अंकमा झरेको नेप्से दोस्रो दिन पनि तीन दशमलव २१ अंकले घटेर दुई हजार ४८ दशमलव २६ अंकमा खुम्चिएको थियो । तेस्रो दिन पुन २८ दशमलव ४० अंकले घटेर दुई हजार १९ दशमलव ८५ अंकमा सिमित भएको नेप्से चौंथो दिन भने ४१ दशमलव शुन्य छ अंकले बढेर दुई हजार ६० दशमलव ९१ अंकमा पुग्न सफल भएको थियो । पाँचौं दिन पनि नेप्से पाँच दशमलव १३ अंकले बढेर दुई हजार ६६ दशमलव शुन्य पाँच अंकमा पुग्न सफल भएको थियो ।
यसैगरी पहिलो दिन सात दशमलव ५२ अंकले घटेर तीन सय ९२ दशमलव शुन्य दुई अंकमा झरेको सेन्सिटिभ इन्डेक्स दोस्रो पुन एक दशमलव ५९ अंकले घटेर तीन सय ९० दशमलव ४३ अंकमा खुम्चिएको थियो । तेस्रो दिन पनि चार दशमलव ८६ अंकले घटेर तीन सय ८५ दशमलव ५६ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स चौंथो भने सात दशमलव ४८ अंकले बढेर तीन सय ९३ दशमलव शुन्य छ अंकमा पुग्न सफल भएको थियो । यसैगरी पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स एक दशमलव १० अंकले बढेर तीन सय ९४ दशमलव १५ अंकमा पुगेको छ ।
यो साता आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया