भारतले प्याजको निर्यातमा भन्सार बढाएसँगै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ ।
एक दिनमै प्याजको मूल्य प्रतिकिलो रु २० सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनबाट देखिएको छ ।
भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्य वृद्धि भएपछि वाणिज्य विभागले अनुगमन थालेको छ ।
विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार सोमबार विभागले तीन वटा अनुगमन टोली खटाएर कालीमाटी, बल्खु, एकान्तकुनालगायत प्रमुख तरकारी बजार र खुद्रा पसलमा अनुगमन गरेको छ ।
सो क्रममा तीन जना व्यापारीलाई जनही रू २० हजार, दुई वटा व्यापारीलाई जनही रू ५० हजारका दरले कारबाही गरिएको छ । चार जना आयातकर्ता र व्यापारीलाई थप अनुसन्धानका लागि कागजात माग भएको उनले बताए ।
काटीमाटी फलफूल तथा तरकारी बजारमा आइतबार प्रतिकिलो रू ६० का दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो रू २० सम्म बढेर रू ८० पुगेको थियो । तर विभागले अनुगमन गरेपछि कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो रू १० ले घटेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया