काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले स्थानीय तहले बैंकहरुमा जम्मा गरेको निक्षेपलाई राष्ट्र बैंकमा लैजादा बजारमा तरलताको अभाव भएको दाबी गरेका छन् ।
मंगलबार पत्रकार सम्मेलन गरेर केसीले, स्थानीय तहले बैंकहरुमा जम्मा गरेको निक्षेपलाई गणना गर्न दिन माग गरेका छन् ।
उनले भने, ‘सरकारले जुन स्थानीय तहले बैंकहरुमा गरेको डिपोजिट थियो करिब ९० अरब जतिको डिपोजिटलाई अचानक राष्ट्र बैंकमा लिएर जाँदाखेरी त्यसले समस्या परिरहेको छ । अहिले ८८/९० अरबको ६० प्रतिशत आउने भन्ने कुरा हामीसँग कुराकानी गर्दा भैरहेको छ । त्यो आइदियो भने केही सहज होला नत्र भने अझैपनि स्थिति तरलताको हिसावले जुन किसिमले बाहिर भनिएको छ त्यो भन्दा फरक खालको अवस्था हामी देखिरहेका छौ ।’
कर्जा लगानी बढ्न नसक्दा खराब कर्जा बढ्ने सम्भावना रहेको र नयाँ परियोजनाका लागि पनि बैंकहरुमा माग नरहेको भन्दै ब्याजदर घटाउने सन्देश दिन भएपनि केही समय स्थानीय तहको निक्षेप गणना गर्न दिनुपर्ने उनले बताए ।
आगामी दिनमा तरलताको समस्या हुने केसीको उनको भनाई छ ।
उनले भने, ‘बजारमा तरलताको लागि लोकल लेभलको डिपोजिटलाई जसरी भएपनि सिस्टममा ल्याउनुपर्ने अवस्था छ । किनभने जसरी सोचिएको छ र बाहिर बुझिएको छ त्यो अनुसारको तरलता अहिले पनि बजारमा नभैरहेकै अवस्था हो ।’
उनले सरकारले पूर्वाधारको क्षेत्रमा जसरी पनि खर्च बढाएर बजारमा तरलता ल्याउनुपर्ने उल्लेख गरे । उनले पूर्वाधार क्षेत्रमा खर्च गरेर तल्लो तहसम्म पैसा नपठाएसम्म अहिलेको अवस्थाबाट पार लाग्न नसक्ने धारणा राख्दै सरकारलाई पूर्वाधार क्षेत्रमा खर्च बढाएर तरलता ल्याउन आग्रह गरे ।
‘सरकारले अहिले गर्नुपर्ने काम भनेकै बाहिरबाट ऋण लिएर हुन्छकि यहिको बोन मार्केट वा पब्लिकबाट भएपनि पूर्वाधार क्षेत्रमा खर्च गरेर त्यसको इम्प्याक्ट तल्लो लेवलको मान्छेको हातसम्म पैसा पु¥याउन नसकुनजेल यो समस्या रहिरहन्छ भन्ने हाम्रो बुझाई हो,’ केसीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया