काठमाडौं । अफ्रिकी देश गेबनका सेना अधिकारीहरूले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका छन् । सेनाका अधिकारीहरूले शनिवारको निर्वाचनको नतिजा रद्द गरेको बताएका छन् । चुनावमा राष्ट्रपति अली बोन्गोको जित घोषणा गरिएको थियो ।
निर्वाचन आयोगका अनुसार बोन्गोले करिब दुई तिहाइ मत पाएका छन् । विपक्षीले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । यो विद्रोहसँगै देशमा उनको परिवारको ५३ वर्ष लामो शासनको अन्त्य हुनेछ ।
समाचार एजेन्सी एएफपीले सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै अपदस्थ राष्ट्रपति अली बोन्गोलाई उनको घरमा हिरासतमा राखिएको बताएको छ ।
सरकारी टिभीमा प्रसारित बयानमा भनिएको छ, ‘राष्ट्रपति अली बोन्गो घरभित्रै नजरबन्दमा छन् । उनको परिवार र डाक्टर उनीसँगै छन् ।’
सेनाका अधिकारीले गेबनको सीमा बन्द गरिएको जानकारी दिएका छन् ।
राजधानी लिब्रविलमा बिहान गोलीको आवाज सुनिएको थियो । राजधानीको सडक सुनसान थियो ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया