नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य 

लोकपथ
161
Shares

काठमाडौं । नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । श्रीलंकको पल्लेके मैदानमा जारी एसिया कप क्रिकेटमा नेपालले भारतलाई २३१  रनको लक्ष्य दिएको हो । भारतले टस जितेर बलिङ रोजेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै भारतलाई २३१ रनको लक्ष्य दिएको हो ।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भएका थिए । उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए हुन् ।  उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटरसमेत बने ।

त्यस्तै, अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए । शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

भुर्तेलविरूद्ध पहिलो ओभरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए । यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए ।

भुर्तेल आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो । कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा आउट भए। कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भए। भीम सार्की पनि ७ रनमा भारतका जडेजाको बलमा १६ ओभरमा बोल्ड भए ।   छैटौं विकेटको रुपमा गुल्सन झा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर आउट भएका थिए ।

त्यसैगरी, सातौं विकेटका रुपमा दीपेन्द्र सिंह ऐरी २९ रन जोडेर आउट भएका थिए । भने, आठौं विकेटका रुपमा सोमपाल कामी आउट भएका थिए । कामीले ५६ बलमा ४८ रन जोडेका थिए । नवौं विकेटका रुपमा सन्दिप लामिछाने आउट भएका थिए । त्यसपछि क्रमश ः करण केसी र  ललित राजवंशी आउट भएका थिए ।

भारतको तीन क्याच ड्रप

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि एसिया कप र भारतसँग खेलिरहेको नेपाले सुरुवात राम्रो गरेको थियो । तर, नेपालको यो राम्रो थालनीमा भारतको तीन क्याच ड्रपले सहयोग पुगेको थियो । पहिलो ओभरको अन्तिम बलमै भुर्तेललाई आउट गर्ने राम्रो अवसर मोहम्मद सामीले सिर्जना गरेका थिए । तर स्लिपमा श्रेयस ऐयरले ड्रप गरे ।

लगत्तै दोस्रो ओभरको पहिलो बलमै नेपालका अर्का ओपनर आसिफलाई क्याच आउट गर्ने अवसर मोहम्मद सिराजले सिर्जना गरे । फेरि पनि क्याच ड्रप भयो ।

भारतीय कप्तान विराट कोहलीले सजिलो बल समात्न सकेनन् । तर भातरको गल्तीले फेरि निरन्तरता पायो । पाँचौं ओभरको दोस्रो बलमा भुर्तेललाई नै आउट गर्ने अर्को अवसर सामीले नै सिर्जना गरे । तर विकेट किपर इसान किसानले ड्रप गर्दा बल बाउण्ड्रीमा पुग्यो । नेपालका निम्ति यो दोस्रो चौका थियो । अर्को रोचक त भुर्तेल र आसिफ, दुवैले रेफ्रीले दिएको एलबीडब्लू आउटलाई रिभ्यू लिएर असफल बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?