क्रिकेट खेलाडीमाथि प्रधानमन्त्रीको त्यो झुटो बाचा (भिडियोसहित)

सार्वभौम मुलुकका सार्वभौम खेलाडी
लम्किन लागेको खेल क्षेत्र
सरकारले केही गर्दिएला भन्ने खेलाडीको अपेक्षा
पटकपटक राज्यले गरेको झुटको खेती अनि उपेक्षा
यस्तै छ नेपाली खेल क्षेत्रको विडम्बनापूर्ण अवस्था ।

गत चैत ३ गते विश्वकप क्रिकेटको छनोटका लागि भएको खेलमा त्रिवि क्रिकेट मैदान भरिभराउ भएपछि रुखको टुप्पोमा बसेर खेलप्रतिको क्रेज खेलप्रेमीले देखाए । राम्रो मैदान र पूर्वाधार नभएको अवस्था अनि जोखिमै मोलेर रुखको टुप्पोबाट खेलप्रेमीले राज्यलाई गिज्याए । उक्त तस्बिरले विश्वमा नै नेपालीहरुको खेलप्रतिको क्रेज देखाए पनि अझै राज्यले भने खेलप्रतिको नेपालको सम्भावना बुझ्न सकेको छैन ।

भ्रष्टाचारले जरो गाडेको मुलुक जहाँ शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यक्ता नै पूूरा गर्न नसकेको राज्यको अवस्था । विश्वमा नै यस्तै उपमा पाएको नेपाललाई नेपालीहरु पनि विस्तारै सक्षम हुँदै छन् भन्ने सन्देश दिइरहेका छन् नेपालको क्रिकेट अनि क्रिकेट खेलाडीले ।

क्रिकेटका लागि विश्वमा नै बादशाह मानिने छिमेकी राष्ट्र भारत र मित्रराष्ट्र पाकिस्तानसँग भर्खरै भिडेर नेपाली खेलाडीहरुले विश्वलाई नयाँ सन्देश दिएर फर्किएका छन् ।

इतिहासमै पहिलोपटक एसिया कपमा सहभागि भएको नेपाल अंकबिहिन बन्दै खेल हारे पनि विश्वका खेलप्रेमीहरुको मन जितेका छन् । सोमबार श्रीलंकामा भएको खेलमा भारतसँग १० विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरियो । तर नेपाली खेलाडीहरुको उत्कृष्ट प्रदर्शनको कारण नेपालप्रतिको भारतीय खेलाडीहरुको धारणा नै परिवर्तन गरिदिन नेपाली टिम सफल भए । तर खेलाडीहरुले नेपालमा खेलको सम्भावना रहेको शुभ संकेत गरिरहँदा पनि न राज्य त्यसतिर चनाखो भएको छ न खेल क्षेत्रसँग सम्बन्धित निकाय नै ।

देशको झण्डा र राष्ट्रिय गान एसिया कपमा गुन्झिदा जो कोही नेपालीले गर्भ गरेका थिए । तर एक पटक कल्पना गरौ त राज्यले आफ्ना तर्फबाट खेल क्षेत्र अझै भनौँ क्रिकेटका लागि के गर्यो ? झुटो आश्वाशन, उधारो बाचा, खाली खल्ती भन्दा राज्यले क्रिकेट क्षेत्रमा केही गर्न सकेको भने छैन । खेलाडीले खेलमा देखाएको उत्साहपछि हाम्रो राज्य एकाएक जुर्मुुराउँछ, विभिन्न बाचा गर्छ अनि त्यो बाचा केही समयपछि रद्धिको टोकरीमा फालिदिन्छ । पटकपटक यस्तै भएको छ । यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीका लागि गरेको एउटा झुटो बाचालाई प्रस्तुत गर्न बान्छनीय हुन्छ ।

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईसँग खेल खेल्दै थियो । युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित हात पारेर नेपाल सोझै विश्वकप छनोटमा पुगेको थियो । फल्डलाइट (खराब) प्रकाशका कारण खेल पुरा हुन नसकेपछि नेपाल डिएल मेथर्डमा विजयी भएको थियो । उक्त खेल हेर्न प्रधानमन्त्री प्रचण्ड पनि टियू क्रिकेट मैदान पुगेका थिए ।

टियू क्रिकेट मैदानमा फल्ड लाईट र आधुनिक स्कोरबोडसम्म नभएको भन्ने आलोचनापछि प्रधानमन्त्रीले तत्कालै फ्लटलाइट लगाउन र आधुनिक स्कोरबोड जडान गर्न निर्देशन दिए । त्यहाँ ती संरचना नबन्दै प्रधानमन्त्रीको सचिवालयले गलत प्रचार नै गर्न भ्यायो तर अहिलेसम्म त्यो काम भने हुन सकेको छैन ।

अरु जस्तै सस्तो लोकप्रियताका लागि बाचा र घोषणा गर्ने गरेका प्रधानमन्त्रीले सोझै विश्वकप छनोटमा पुर्याउने नेपाली क्रिकेट खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरे । तर यो समाचार तयार पार्दासम्म न त टियू क्रिकेट मैदानमा फल्ड लाईट र आधुनिक स्कोरबोड जडान भयो न त खेलाडीहरुले ३ लाख नै पाए ।

एसिया कपमा नेपालले भारतसँग खेल खेल्ने दिन बिहानै पनि प्रधानमन्त्रीले श्रीलंकामा रहेका खेलाडीहरुलाई भर्चुअल माध्यामबाट जितको शुभकामना दिए । प्रधानमन्त्रीले खेलाडीहरुलाई दिएको हौसलाको एकातिर प्रसंशा भयो तर अर्कोतिरबाट गरेका बाचा किन पूरा नगरेको भन्दै आलोचना पनि त्यतिकै भयो ।

खेलाडीहरुलाई बेलामा तलब नदिने, खेलहरुको आयोजना नगर्ने, उधारो पुरस्कार घोषण गर्ने, भएको एक-दुईवटा मैदानमा पनि स्कोर बोड नहुने अनि खेल जित्नु भनेर शुभकामना किन दिने भन्दै प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो । अहिले पनि भइरहेको छ ।

आज भदौ २० गते अर्थात ५ महिना भन्दा बढीको समय बितिसकेको छ । तर निर्देशन अनुसारको काम हुन सकेको छैन ।फल्डलाइट र आधुनिक स्कोरबोड जडानको जिम्मा पाएको निकाए हो राष्ट्रिय खेलकुद परिषद राखेप । ५ महिना भन्दा बढीको समय बितिसक्दा पनि राखेपले अहिलेसम्मपनि टेन्डरको ब्यवस्था मिलाउन सकेको छैन । केही समय अगाडी मात्रै राखेपले टेन्डरको आवहान गरेको भएपनि टेन्डर दिन आउने कम्पनीहरु लायक नभएको भन्दै टेन्डर रद्द गरिएको राखेपको कमजोर तर्क छ ।

अझ लाजमर्दो कुरा त के भने खेल क्षेत्रको विकासका लागि काम गर्ने मन्त्रालयको जिम्मेवारी पाएका मन्त्रीलाई नै नेपाली खेलाडीहरुले कुन खेल खेल्दैछन् भन्नेसम्म पनि थाहा हुँदैन । अहिलेका खेलकुदमन्त्री हुन् डिगबहादुर लिम्बू । जसले नेपाल नै सहभागि नहुने महिला विश्वकपका लागि नेपाली महिला फुटबल टोलीलाई जितको शुभकामना दिए । जसले गर्दा पनि थाहा हुुन्छ नेपालमा खेलाडीहरुको अवस्था सुधार गर्नुपर्ने राज्यको जिम्मेवार व्यक्तिलाई त्यसको ज्ञान नै छैन ।

यसरी नेपाली खेलाडीहरुले देखाइरहेको खेलप्रतिको उत्साहलाई आगामी दिनमा राज्यले ध्यान देओस् र गरेका उधारा बाचाहरु छिट्टै पूरा गरोस् ।

हेर्नुहोस् भिडियो : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?