काठमाडौं । यति एयरलाइन्स र तारा एयरले आज सबै उडान स्थगित गरेको छ ।
बुधवार भएको हेलिकप्टर दुर्घटनामा दिवंगत भएका कम्पनीका प्रबन्ध निर्देशक आङ्ग छिरिङ्ग शेर्पाको सम्मानमा यति एयरलाइन्स र उसको सहायक कम्पनी तारा एयरका शुक्रवारका सबै उडान स्थगित गरिएको हो ।
कम्पनीले यसबाट यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।
यति र तारा एयरले काठमाडौंबाट भरतपुर, भैरहवा, नेपालगञ्ज, जनकपुर, सिमकोट, रारा, जुम्ला, डोल्पा, बाजुरा, साँफेबगर, सुर्खेत, चौरजहारी, रुकुम, जोमसोम, मनाङ, पोखरा, लुक्ला, फाप्लु, ताप्लेजुङ, रामेछाप, भोजपुर र तुम्लिङटारमा दैनिक उडान भर्दै आएका छन् ।
पर्यटन उद्यमी शेर्पाको बुधवार ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । शेर्पासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीले पनि मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया