काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज लैनचौर फुटसल मैदानमा ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ रेफ्रीलाई फुटबल दिएर शुभारम्भ गरेका छन् ।
वडा २३ ले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल असोज ३ गते हुनेछ । प्रतियोगिताको पहिलो खेल महानगरपालिका केन्द्र र वडा नं। २३ टीमका बिचमा भयो । खेलमा वडा २३ ले ५ गोल र महानगर केन्द्रले ३ गोल गरेको थियो । पहिलो खेलको पहिलो गोल महानगरकातर्फबाट विनय शाक्यले गरेका थिए ।
खुला उमेर समूहका पुरुष खेलाडीबीच हुने खेलमा महानगरका हरेक वडाबाट एउटा समूहले भाग लिनेछ । नकआउटका आधारमा हुने खेल हरेक दिन बिहान ८ बजेदेखि १२ बजेसम्म हुनेछ ।
प्रतियोगिताले खेलमार्फत युवाहरुलाई स्वस्थ्य रहन मद्दत गर्ने वडा २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले बताए। उनकाअनुसार खेलका विजेता टीमलाई २ लाख रुपैयाँ, उपविजेतालाई टीमलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र गोलरक्षक १– १ जनालाई १० हजार रुपैयाँसहितको पुरस्कार दिइनेछ ।
यसप्रकारका खेलले वडाहरुको आपसी सम्बन्ध प्रगाढ बनाउने छ । शुभारम्भ अवसरमा वडा नंं २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, युवा लक्षित खेलका कार्यक्रम बढाउँदै लगिने बताए । हामीले खेल मैदान बनाएर आफैँ प्रतियोगिता गराउन सक्ने भएका छौँ । तिवारीको भनाइ थियो ।
प्रतियोगितामा ३२० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र ५ सय युवा कार्यक्रमका लागि परिचालित हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया