काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले खेलकुदको विकासका लागि विभिन्न योजनाहरु सार्वजनिक गरेका छन् ।
क्रिकेट एसोशियसन अफ नेपाल (क्यान) बागमती प्रदेशका अध्यक्ष पारस खड्कासँगको भेटपछि मेयर बालेनले ती योजनाहरु सार्वजनिक गरेका हुन् ।
सरकारले काठमार्डाैंमा खेलको राम्रो वातावरण नभएका कारण खेलाडी उत्पादन हुन नसकेको बताउँदै बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्ने बताए ।
‘पारस खडका , ज्ञानेन्द्र मल्ल , पृथु बास्कोटा पछि काठमाडौँबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन ।’ उनले भने, ‘काठमाडौँमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दै छौ ।’
ती स्थानहरुमा क्रिकेट सिक्न जाने खेलाडीहरुको लागि प्रशिक्षकको अभाव रहेको बताउँदै त्यसको सम्बोधनका लागि ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने बताए ।
‘उक्त स्थानमा क्रिकेट सिक्न जाने खेलाडीहरूको लागि प्रशिक्षकको अभाव छ । बाग्मती प्रदेश भित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै रहेका छन् । प्रशिक्षक र खेलाडीको अनुपातलाई हेर्दा यो निकै कम हो ।’ उनले भने, ‘यस खाडललाई सम्बोधन गर्न, हामीले वाग्मती क्रिकेट सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल ० क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्दै छौ । जस अन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने छ ।’
त्यस्ता कार्यक्रम मार्फत युवाहरूलाई अनुशासन, टिम वर्क र नेतृत्व कौशल विकास गर्ने ठाउँ दिने ,ट्यालेन्ट पूलः क्रिकेट प्रतिभाको संख्या बढाइ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरहरूमा सम्भावित प्रतिनिधिहरूको पहिचान गरी क्षमता अभिवृद्धि गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया