काठमाडौं । रेमिट्यान्स रकम बढेको छ । राष्ट्र बैंकद्धारा आईतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको पहिलो महिनाको प्रतिवेदन अनुसार रेमिट्यान्स २५ दशमलव आठ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब दुई करोड रुपैंयाँ पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव तीन प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स २१ दशमलव पाँच प्रतिशतले बढेर ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२ दशमलव एक प्रतिशतले कमी आई ३९ हजार एक सय ५२ कायम भएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९ दशमलव पाँच प्रतिशतले कमी आई १६ हजार चार सय २३ कायम भएको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५ दशमलव चार प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २६ दशमलव एक प्रतिशतले वृद्धि भई एक खर्ब २८ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८ दशमलव चार प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया