काठमाडौं । नेपालमा सबैभन्दा ठूलो बैंक नेपाल इन्फ्रास्टक्चर बैंक आज ‘बुधवार’देखि सञ्चालनमा आएको छ ।
नेपालमा पुर्वाधार बिकासको क्षेत्रमा ठूलो लगानी गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको इन्फ्रास्टक्चर बैंकको बुधवार विधिवत रुपमा समुद्घाटन गरिएको हो । सरकारी तथा निजी साझेदारीको अबधारणा रहेको उक्त बैंकको २० अर्ब चुक्तापूँजी रहेको छ ।
बैंकले राष्ट्रको पुर्वाधार विकास गर्ने कार्यका लागि महत्वपुर्ण भुमिका तथा योगदान पु-याउने लक्ष्यसहित सेवा सुविधा शुरु गरेको हो । यो बैंकमा सरकारको १० प्रतिशत सहित ६० प्रतिशत अर्थात १२ अर्ब संस्थापक लगानी हुनेछ भने ४० प्रतिशत अर्थात आठ अर्बको शेयर सर्वसाधारणको हुनेछ ।
बैंकमा नेपाल सरकार, विभिन्न बाणिज्य बैंकहरु, बीमा कम्पनी र निजी क्षेत्रको सहभागितामा सञ्चालनमा आएको बैंकमा सर्वसाधारणको समेत लगानी हुनेछ ।
प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली रहेको यो बैंकको मुख्य उद्देख्य पूर्वाधार विकाससम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा शेयरमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागी आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, विक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने रहेको छ ।
यसैबीच बैंकको उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.युवराज खतिवडाले बैंक र उद्योगीबीच ब्याजदरको बिषयमा भएको घम्साघम्सी सरकारलाई मन नपरेको बताएका छन्।
साथै अर्धमन्त्री खतिवडाले बैंकहरुलाई ब्याजदर सन्तुलनमा राख्न सुझाब समेत दिएका छन् । ‘बैंकहरु पनि नीजि क्षेत्रकै हो, लगानी उद्यमी पनि निजी क्षेत्रकै हो, तपाईहरुबीचको यो तछाड मछाड हामीलाई पटक्कै मन परेको छैन’, उनले भने ।
बैंक र उद्यमी दुवै उद्योग वाणिज्य क्षेत्रका छाता संगठन भएको भन्दै उनले आपसमा बसेर छलफल गर्न सुझाव समेत दिए । यदि दुवै पक्षले झगडालाई अन्तिम रुप दिन नसके सरकारले हस्तक्षेप गर्न सक्ने पनि उनले जानकारी दिए ।
यता राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवि नेपालले लामो समयको प्रतिक्षा सञ्चालनमा आएको यो बैंकले बित्तिय क्षेत्रमा कोसे ढुंगा बन्न सक्ने बताएका छन् । उनले भने, ‘नेपालले मुलुकमा पुर्वाधार निर्माणको अत्यन्त आवश्यकता रहेको बेला सोही उद्देश्यका लागि खोलिएको यो बैंकले मुलुकको प्रगतिमा सहयोग गर्नेछ ।’
साथै उनले यो बैंकले शुरूमा मुलुकभित्रकै पूँजीको उपयोग गरिरहेको भएपनि भविष्यमा बिदेशी पूँजी ल्याउन राष्ट्र बैंकले बातावरण बनाइदिएको समेत बताए ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनमा आएसँगै नेपालको ठूला-ठूला परियोजनामा लगानी गर्नका लागि पुँजी परिचालन गर्न महत पुग्ने छ ।
त्यस्तै नेपाल सरकार लगायत स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको लागि परियोजना तर्जुमा, मूल्याङ्कन तथा जोखिम व्यवस्थापन सम्बन्धमा सर–सल्लाह प्रदान गर्ने, स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको लागि पुँजी परिचालन गर्न आवश्यक प्रवेशद्धारको रुपमा काम गर्ने लक्ष्य पनि लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया