एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ ।
आइतवार राति सम्पन्न भएको खेलमा रियल म्याड्रिडले रियल भाल्लाडोलिटलाई ४-१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा सहज जित निकालेको हो । रियल म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे ।
बेन्जिमाले खेलको ५१ औँ र ५९ औँ मिनेटमा पेनाल्टीमा गोल गरे । त्यस्तै खेलको ३४ औँ मिनेटमा राफेल भारानेले तथा ८५ औँ मिनेटमा लुका मोड्रिचले समान एक-एक गोल गरे । यता भाल्लाडोलिटका लागि खेलको २९ औँ मिनेटमा मोहमेदले एक मात्र गोल फर्काएका थिए ।
खेलको ८० औँ मिनेटमा क्यासमिरो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो । जितपछि रियल म्याड्रिड २७ खेलबाट ५१ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।
त्यस्तै आइतवार राति नै भएको अन्य खेलहरुमा सेभिल्लाले रियल सोसिडाटलाई ५-२ गोल अन्तरले, रियल बेटिसले सेल्टा डि भिगोलाई १-० गोल अन्तरले, भ्यालेन्सियाले जिरोनालाई ३-२ गोल अन्तरले तथा भिल्लारियलले लेभान्तेलाई २-० गोल अन्तरले हरायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया