काठमाडौं । ‘लालिगुँरास अजम्बरी चम्पा चमेली’, गायिका कुन्ती मोक्तानको स्वरवद्ध रहेको यो गितले कुनै बेला नेपाली संगित क्षेत्रमा तहल्का मच्चाएको थियो ।
यहि गितलाई स्मरण गर्दै लालिगुँरास फुललाई हातमा लिएर होस् वा सिरमा सजाउँदै फोटो खिच्ने युवा-युवतीहरुको भिड पनि बाक्लो छ । त्यहि पोष्ट भएका सुन्दर फोटोहरु अहिले सामाजिक सञ्जालमा छ्याप-छ्याप्ती देखिन्छ ।
लालिगँरासको फुललाई हातमा लिएर एक्लै ‘सेल्फी लिनेदेखि वुइफी’ लिएको फोटो फेसबुक, इन्स्ट्रागाम, इमो र ट्वीटरमा पोष्ट गर्नेहरु धेरै छन् । मनमोहक लालिगुँरासको फोटोहरु सामाजिक सञ्जालमा पोष्ट गर्न कै लागि भएपनि अहिले काठमाडौं नजिकै रहेको डाडाँहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु जाने गर्छन ।
यतिबेला फुर्सदको समय मिलाएर जो कोही पनि लालिगुँरास टिप्न र फोटो खिच्न शिवपुरी राष्ट्रिय निकुञ्ज जाने गरेको सुरक्षाकर्मी अमृत राउतले बताए । अहिले शिवपुरी राष्ट्रिय निकुञ्ज मात्र नभएर सबैको घुम्न जाने स्थान पनि भएको छ ।
नेपालको अधिकांश जिल्लाको लेकाली क्षेत्रहरुमा पाइने राष्ट्रिय फुल लालिगँरास यस वर्ष फागुनको दोस्रो सातादेखि नै फुल्न थालेको छ । काठमाडौं नजिकै रहेको अधिकांश अग्लो स्थानको डाडाहरु जस्तै शिवपुरी, फुल्चोकी, लेले, पाइलट बाबा, लाकुरी भञ्ज्याङ, जामाचो र डाडागाउँ वरिपरि यतिबेला लालिगँरास फुलेको छ ।
बुढानिलकण्ठबाट करिब साढे एक घण्टाको पैदलयात्रा पछि शिवपुरी निकुञ्जको लालिगुँरास फुलेको स्थानमा सजिलै पुग्न सकिन्छ । त्यहाँ रातो रंगको लटरम्म लालिगँरास फुलेको देखिन्छ । शिवपुरी राष्ट्रिय निकुञ्जभित्र आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजरमा राख्दै ‘हाइकिङ’को लागि सजिलो बाटोको निर्माण गरिएको छ ।
त्यहि बाटो प्रयोग गर्दै दैनिक दुई सयको हाराहारीमा पर्यटकहरु घुम्न जाने गरेको निकुञ्जमा कार्यरत सुरक्षाकर्मीहरु बताउँछन् ।
बागमती नदीको उद्गम स्थल ‘बागद्धार’ हुँदै २७ सय ३२ मिटर अग्लो स्थानमा रहेको शिवपुरी डाडामा जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या दैनिक बढ्दो छ ।
नेपालको लेकाली जिल्लाहरु धेरै प्रहारको लालिगँरास पाइन्छ । ताप्लेजुङको धार्मिक स्थल पाथिभरा जाने बाटोमा मात्र ३५ जातको लालिगँरास पाइन्छ । त्यस्तै तेह्रथुमको तीनजुरेलाई लालिगुँरासको राजधानी भनेर समेत चिनिन्छ । तर, शिवपुरीमा भने दुई प्रकारको मात्र लालिगुँरास पाइन्छ, रातो र पिङक रंगको ।
लालिगुँरास फुल मात्र नभएर स्वस्थ्यको लागि पनि निक्कै उपयोगी छ । महिला ट्रेकिङ गाइडर प्रिसेला तामाङले लालिगुँरास क्यान्सर रोगीहरुको लागि अझ फाइदाजनक रहेको बताइन् ।
‘अहिले लालिगुँरास फुललाई जुसको रुपमा प्रयोग गर्दै आइरहेको छ, यसले ग्यास्ट्रिक तथा पेटमा भएको समस्याहरुलाई पनि र्निमुल पार्ने काम गर्छ’, उनले लोकपथलाई बताइन् ।
साथै उनले लालिगुँरास फुल मात्र नभएर राष्ट्रलाई नै जोगाउने काम गर्ने समेत बताइन । हाल नेपालमा लालिगुँरासलाई चियाको रुपमा पनि प्रयोग गर्दै आइरहेको छ ।
अर्को ट्रेकिङ गाइडर जीत गुरुङका अनुसार लालिगुँरासको चियापतिको माग विदेशमा बढ्दो रहेको बताए । उनले भने, ‘नेपालमा लालिगुँरासको चियाको माग दिनप्रति दिन बढ्दो छ, यो ट्रेन काठमाडौंमा शुरु भएको धेरै समय भएको छैन, लालिगुँरासको फुल स्वस्थ्यवर्धक भएकाले पनि अहिले यसको चिया खानेको संख्यामा वृद्धि भएको हो ।’
साथै उनले लालिगुँरासको चिया एक सय ग्राम बराबरी एक हजारदेखि ११ सय रुपैयाँसम्म पर्ने बताए ।
‘मैले गोर्खाबाटै लालिगुँरासको चियापति बनाएर काठमाडौंमा बिक्री गर्दै आइरहेको छु, लालिगुँरास चिया बनाउन पनि खासै त्यति धेरै गाह्रो पनि छैन ।’, उनले थपे ।
जिल्लाका विभिन्न स्थानमा पाइने घनघोर जंङगलहरुमा बसन्त ऋतुको आगमनसँगै वनभरी रातै हुनेगरी लालिगुँरास फुल्ने गर्छ ।
फागुन महिनाको अन्तिम साताबाट भिरपाखाहरुमा लटरम्मै फुल्ने लालिगुँरास अहिले कुनै जिल्लाहरुमा वन बिनासका कारण बिरलै मात्रामा पाइन्छ । पहाड तथा हिमाली क्षेत्रका अधिकांश ठाउँमा अहिले लालिगुँरास फुलले रौनकता थप्ने काम मात्र गरेको छैन, बाह्य पर्यटनलाई नेपाल भित्र्याउन पनि ठूलो सहयोग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया