काठमाडौं । नेपालको आयात र निर्यातबिचको खाडल झन् झन् बढ्दै गएको छ ।
नेपाल राष्ट्र बैकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको दुई महिनाको प्रतिवेदन अनुसार आयात खर्बमा हुँदा निर्यात केही अर्वमा सिमित रहनुले पनि आयात र निर्यात व्यापारबिचको खाडल झन् झन् बढ्दै गएको देखिएको हो ।
राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो दुई महिनामा कुल वस्तु आयात पाँच दशमलव एक प्रतिशतले घटेर दुई खर्ब ५९ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले कमी आएको थियो ।
चालु आवको दुई महिनामा कुल वस्तु निर्यात भने सात दशमलव आठ प्रतिशतले घटेर २६ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३४ दशमलव नौं प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १५ दशमलव छ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय ३८ दशमलव पाँच प्रतिशत र पाँच दशमलव एक प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार वस्तुगत आधारमा जिंक शिट, अलैंची, पार्टिकल बोड, पोलिस्टर धागो, जुस लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात घटेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः पाँच दशमलव दुई प्रतिशत र २१ दशमलव पाँच प्रतिशतले कमी आएको छ भने चीनतर्फको आयात २५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा एम.एस. तार, छड, बार तथा क्वाइल, तयारी पोशाक, विद्युत्तीय उपकरण, लत्ताकपडा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधी, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ । निर्यातमार्फत् भने भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
आर्थिक वर्ष २०८०÷८१ को दुई महिनामा कुल वस्तु व्यापार घाटा चार दशमलव सात प्रतिशतले कमी आई दुई खर्ब ३३ अर्ब ३० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा नौं दशमलव चार प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव दुई प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव पाँच प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ३२ अर्ब १४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६ अर्ब २३ करोड बराबरको भएको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको दुई महिनामा कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४ दशमलव एक प्रतिशत र ४५ दशमलव छ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात शुन्य दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५७ दशमलव दुई प्रतिशत, शुन्य दशमलव शुन्य तीन प्रतिशत र ४२ दशमलव दुई प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५२ दशमलव दुई प्रतिशत, पुँजीगत वस्तुको नौं दशमलव एक प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८ दशमलव एक प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३ दशमलव सात प्रतिशत, आठ दशमलव सात प्रतिशत र ३७ दशमलव सात प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया