देख्छन् खुसी तस्बिरमा मनमा हुन्न…

देख्छन् खुसी तस्बिरमा मनमा हुन्न, एकान्तमा नरोएको दिनै हुन्न । फर्केर आऊ पन्छी फर्केर आऊ शान्तिको गुँड सानु देशमै बनाऊ’। पुष्पन प्रधानको यो गीत परदेशमा बसेकाहरुको कथा हो ।

अझ विशेषगरी चाडपर्वका समयमा यो गीतको सान्दर्भिकता झन् बढेर आउँछ । काम गरेर थकित भएका परदेशीहरुलाई यो गीतले हृदय छुन्छ, सँगै गुनगुनाउँछन् अनि कतिपय भकान्निँदै घरमा फोन गर्छन् ।

यो गीतसँग मिल्ने कथा छ, अध्ययनका क्रममा जापानको ओसाकामा बस्दै आएकी इटहरीकी श्रद्दा कार्कीको । विगत ५ वर्षदेखि उनी नेपाल आएकी छैनन् । ५ वर्ष भयो उनले नेपालको चाडपर्वलाई तस्बिरमा मात्र देखेको, घरका परिवारलाई फोनमा हेरेको र आवाज मात्र सुनेको । चाडपर्वका बेला घरमा नहुनुको पीडा उनले फोनबाटै सुनाइन् ।

आफ्नो परिवारसँग दशैँ, तिहार मनाउन नपाएको पीडाको शब्द सायद उनले शब्दकाषमै भेटिनन् । फेसबुकमा देखिरहने फोटोले पिरोल्छ उनलाई । परिवारसँगै एउटै तस्बिरमा पाउने स्थानलाई उनी कल्पना मात्र गर्छिन् । आँखाभरि आँसु र मनभरि पीडाबाहेकका विकल्प पनि त हुँदैन परदेशीसँग । एक-दुई घण्टाको बाटो पनि त हैन आज आएर भोलि फर्कन्छु भन्नलाई ।

देशमा उच्च शिक्षाको लागि राम्रो विश्वविद्यालयहरु भएको भए र सरकारले सबै युवाको लागि रोजगारीको अवसर सिर्जना गर्न सकेको भए विदेशमा भएका आधा युवाहरु त स्वदेशमै हुन्थे होला ।

‘परिवारसँग फोनमा त कुरा हुन्छ तर नजिकै भएको महसुस भने हुँदैन । चाडबाडले रुवाउँछ ।’ खिन्न मन गर्दै उनले भनिन् । चडपर्वका बेलामा जापानमै पनि सानो तिनो ‘सेलिब्रेसन’ हुने भएपनि घरको जस्तो माहोल नहुने रहेछ ।’ उनले थपिन् ।

‘दसैँ भन्नासाथ नयाँ लुगा, मिठोमसिनो खाने, चङ्गा उडाउने भन्ने हुन्थ्यो । परदेशमा आएपछि त दसैँ भन्नासाथ परिवार र बिगतमा परिवारसँग मनाएको दसैँमात्रै याद आउछ । विदेशमा त हरेक दिन म एक्लै छु’, उनले आफ्नो अनुभव सुनाइन् ।

‘जापानमै भएपनि टिकाको दिनमा याहा नै भएका साथीहरु मिलेर टिका लगाउने रमाइलो गर्ने प्लान छ । आफ्नो माहान पर्व हो । जे जति सम्भव छ यता रमाइलो गर्ने योजना छ ।’ उनले सुनाइन् ।

श्रद्दा त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । दशैँ, तिहार, छठजस्ता महत्वपूर्ण चाडबाड मनाउन नपाउने नेपालीहरु धेरै छन् । फरक यति हो उनीहरु बस्ने भूगोल उनीहरुले गर्ने काम, उनीहरुको परदेश जानुको कारण । तर चाडपर्वका बेला आफन्तसँग हुन नपाउनुको दुःख सबैको एउटै छ ।

धेरै परदेशीहरुको यस्तै पीडा छन् चाडपर्वमा । विदेशिएका कति नेपालीहरु स्वदेशिन्छन् भने कोही चाडपर्वका बेलामा पनि परदेशमै बस्छन् । परदेशमै रहनुको पनि आफ्नै कथा, व्यथा, बाध्यता हुन्छन् । कति नेपालीहरुले परदेशमै भए पनि चाडपर्वहरु मनाउँछन् त कतिले मनाउँदैनन् । अनि कतिचाहिँ मनाउन मन हुँदाहुँदै पनि मनाउन पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?