मनोज गजुरेलको दसैँ अनुभव : घरमा निधारभरी टिका लगाउने चामलको पनि अभाव थियो (भिडियोसहित)

मलाई दसैँ भन्ने बित्तिकै जीन्दगीका तीन कालकण्डको याद आउँछ । पहिलो बाल्यकाल, दोस्रो किशोरावस्था र तेस्रो अहिले वर्तमान अवस्था । बाल्यकालको दसैँ पहाडमा नै मनाएँ । त्यो बेला दसैँ भन्ने बित्तिकै निधारभरी ठूलो टिका लगाउनुपथ्र्यो भन्ने लाग्थ्यो ।

घरमा त निधार भरी टास्ने चामलको समेत अभाव हुन्थ्यो । त्यसैले निधार भरी टिका लगाउन बुबाको मामा घरमा जान्थ्यौँ । आमा वा घरको मान्छेको हातबाट टिका लगाउनुभन्दा पहिला मितिनी आमाको हातबाट टिका लगाइन्थ्यो । मितिनी साइनो भनेको यति शक्तिशाली हुन्थ्यो कि, त्यही भएर पनि आमाको भन्दा पनि मितिनी आमाको हातबाट टिका लगाइन्थो ।

त्यसबेला बाल्यकाल भए पनि पैसाको पनि अपेक्षा हुने थिएन । हामीले ५ रुपैयाँसम्म दक्षिणा पाउँथ्यौँ । अनि त्यही दक्षिणको पैसा जम्मा गरेर सिनेमा हेर्न जान्थ्यौँ । मलाई यी तीन कुराको याद छ ।

म किशोरावस्थामा आइसकेपछि म काठमाडौं प्रवेश गरेँ । काठमाडौंबाट घर जाने भन्ने हुन्थ्यो दसैँ मनाउनका लागि । एक वर्ष अघिदेखिबाट नै त्यसको तयारी हुन्थ्यो । दुई तीन महिना अगाडी नै टिकट काटिन्थ्यो ।

जे जस्तो हुन्छ आफ्नै हैसियत अनुसार लत्ता कपडा किन्ने गाउँ गएर आफ्ना साथीभाइहरुसँग भेट्ने कुरानै महत्वपूर्ण हुन्थ्यो ।
त्यसबेला काठमाडौंबाट गाउँमा गैसकेपछि लामो समयपछि आफ्ना आफन्तसँग भेट्ने कुरा रमाइलो हुन्थ्यो । अहिले उमेर परिपक्क भयो, आफूमाथि पनि जिम्मेवारीहरु थपियो ।
आफ्ना छोराछोरी भान्जाभान्जीलाई टिका लगाइ दिने गर्नु पर्दा पहिलाको दसैँ र अहिलेको दसैँमा धेरै फरक हुँदो रहेछ ।

अहिले बुझ्दैछु, बाबाआमालाई नयाँ कपडा किनिदिनुु र धेरै पैसा दिनु, मलाइ निधार भरी टिका लगाइदिनु भनेर माग्दा उहाँहरुलाई कति गाह्रो हुन्थ्यो होला भनेर ।

दसैँ पर्वको आफ्नै सांस्कृतिक, धार्मिक प्राकृतिक महत्व छ । दसैँको कुरा गर्दा धेरै वर्षबाट छुटेका मान्छेहरुसँग भेट हुँदा धेरै रमाइलो हुन्थ्यो ।

दसैँ हाम्रो राष्ट्रिय पर्व हो, सबैले आ–आफ्नो भाषा, संस्कृती, परम्परा चालचलनलाई हरेक जाती, भाषा र धर्मको मान्छेले जगर्ने गर्दै आफ्नो राष्ट्रिय पर्व र राष्ट्रियता जोगाउनुपर्दछ । सबैमा विजयादशमी २०८० को शुुभकामना ।

(लोकपथका लागि महेश तिमल्सिनाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?