मिलनबिक्रम सिजापति : राति जंगलको बाटोमा हिँडेर मामाघर जाँदाको त्यो दसैँ (भिडियोसहित)

दसैँ भन्ने बित्तिकै मलाई सानोमा मामाघरमा टिका लगाएको कुराको बढी याद आउँछ । टिका लगाउँदा आफन्तहरुले दिने ५ रुपैयाँ दक्षिणाहरुमा पनि खुसी भइन्थ्यो त्यही कुराले एकदमै रमाइलो गराउँछ ।

दसैँ र तिहारमा १ महिना बिदा हुँन्थ्यो स्कुल जान नपर्ने भएकाले सानोमा त्यही कुराले पनि खुशी लाग्थ्यो । बाल्यकालको दसैँमा चङ्गा उडाउन पाउने, टिका लगाएर पाएको दक्षिणाको कुराको बढी याद आउँछ ।

मलाई सानोमा मामाघर जाँदाका विभिन्न अनुभवहरु छ । मेरो मामाघर बनेपा हो, मामा घर जान धेरै समय लाग्थ्यो । हिँडेर दुई घण्टा जंगलको बाटो जानुपर्ने थियो । राति जंङ्गलको बाटो जाँदा बाघ आउँछ भनेर डराएर मामाघर पुुगेको कुराले त्यो बेलामा गरेको आँटको याद आउँछ । त्यो कुरा कहिले पनि बिर्सिन सकिँदैन ।

त्यो बेला राति हिडेको भनेर हजुरआमा हजुरबुबाले गाली गर्नु भएको थियो । पहिले दसैँमा नयाँ लुगाको रुपमा स्कुल जाने लुगा नै किन्दिनुुहुुन्थ्यो । त्यही पनि बढो महत्व हुन्थ्यो ।

अर्को कुरा बाल्यकालका धेरै दसैँहरु अभावै अभावमा बिताएको पनि सम्झना छ । एकजोर कपडा किन्न पनि सोचेर बिचार गरेर किन्नुपथ्र्यो । मासु दसैँमा मात्र खान पाइने, त्यो पनि थोरै हुन्थ्यो । बुबाआमा हुँदासँम्म दसैँ लगायत सबै कुुरा उहाँहरुको काँधमा हुन्थ्यो । पैसा चाहियो भने बुबा आमासँग माग्दा हुन्थ्यो एक किसिमले त्यो बेलाका दसैँहरु रमाइलो नै हुन्थ्यो । तर अहिले आफु बुबा भए पछि सबै जिम्वेवारी आयो त्यहि पनि त्यस्तो समस्या भएको छैन ।

परिवार सानो भएर मलाई धेरै समस्या भएको छैन । तर अहिलेको तुलनामा मेरो बच्चाको उमेरमा बुबा आमा लाई धेरै गाह्रो भाको थियो । अहिले सबै आवश्यकता पुरा होस् भनेर प्रयास गरिरहेको छु ।

बुबालाई एउटा जिन्स पेन्ट किनिदिनु भनेर ३ महिना अगाडी नै भनेको थिएँ, दसैँमा किनिदिनुभयो । कताबाट पैसा निकालेर किन्दिनु भयो होला त्यो कुरा अहिले पनि अविस्मरणीय छ । पहिला र अहिलेको दसैँमा धेरै फरक छ । तर पनि रमाइलोका साथ मनाइन्छ । दसैँ हिन्दू धर्मावलम्बीहरुको महान पर्व हो, हामी सबैले सबै दुख भुलेर मनाउनुपर्दछ । दसैँका पनि राम्रा र नराम्रा आफ्नै पक्ष छन् । सबैले भएका रिसराग भुलेर मनाइने गरिन्छ । बुुबाआमा लगायत आफ्ना आफन्तहरुको हातबाट टिकासहित आशिर्वाद लिइन्छ ।

त्यसको साथसाथै नराम्रा पक्षहरु पनि छन् त्यो चाँही हामीले स्थापित गरेका हौँ । समाजमा दसैँ मनाउने नाउँमा देखावटीपन बढी भएका कारणले त्यसबाट धेरै विकृति बढी भयो । धनि मानिसहरुले त देखावटीपन बढी गर्लान् तर नहुने गरिब परिवार माथी नराम्रो असर पर्छ । त्यसकारण सबैले आफूसँग जे छ त्यसमै रमाएर दसैँ मनाउनु नै राम्रो हुन्छ । त्यसको साथसाथै अन्तिममा सम्पूर्ण नेपालीहरुलाई विजया दशमीको शुभकामना ।

(लोकपथका लागि विप्लव जम्कटेलले गरेको कुराकानीमा आधारित)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?