काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार छनोटको खेल तालिका घोषणा गरेको हो ।
कात्तिक १३ देखि १९ गतेसम्म चल्ने प्रतियोगिता टियु र मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ । ८ टोलीलाई दुईवटा समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘ए’ मा रहेको छ जसमा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।
छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ । सिंगापुरविरुद्धको खेलमा नेपाल जितको लक्ष्यसहित मैदान उत्रनेछ । किनभने नेपाललाई विश्वकप खेल्नका लागि यी खेलहरुमा जित्नै पर्ने दबाब रहेको छ ।
यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–ट्वान्टी विश्वकप खेल्न पाउने छन् । त्यसैले पनि नेपाल घरेलु मैदानमा कुनै पनि गल्ती गर्न चाहँदैन ।
यता नेपाली क्रिकेट टीमका प्रशिक्षक मोन्टी देसाईं भने नेपाली टीम गतिलो लयमा रहेको बताउँछन् । विपक्षी टीमलाई कमजोर आँकल्न नहुने तर, नेपाली टीम राम्रो लयमा रहेको उनको तर्क छ । त्रिकोणात्मक सिरिजको फाइलनमा व्यहोरेको हारलाई बिर्सँदै त्यसलाई शक्तिमा बदलेर अघि बढ्ने उनले बताए ।
यसैगरी, कप्तान रोहितकुमार पौडेल पनि त्रिकोणात्मक सिरिजको फाइनलमा भएका गल्तीबाट पाठ सिकेर अघि बढ्ने बताउँछन् ।
नेपालले दोस्रो खेलमा मलेसियाको सामना गर्नेछ । नेपाल र मलेसियाबीचको खेल टीयू मैदानमा कात्तिक १४ गते हुनेछ । त्यसपछि नेपालले तेस्रो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल कात्तिक १६ गते बिहान ९ बजेबाट टीयू मैदानमा हुनेछ ।
नेपालले छनोटका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
टी–२० त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम) ढकाल र सागर ढकाल टिममा अटाएका छैनन् । तर, सन्दीप लामिछाने टी–२० विश्वकप छनोटका लागि टोलीमा समेटिएका छन् ।
नेपाली टीममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया