काठमाडौं । सरकारले अभियानको रुपमा अगाडि बढाएको जनताको जलविद्युतको साधारण सेयर आज (बिहीवार)देखि बिक्री शुरु भएको छ । सेयर खरीदका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार नै ग्लोबल आइएमइ क्यापिटल लिमिटेड र नेपाल डिपी लिमिटेडमा दुई वटा डिम्याट खाता खोलेका छन् ।
यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले समेत बुधवार नै डिम्याट खाता खोलेका छन् ।
नुवाकोट र रसुवाको सीमानामा निर्माण भइरहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत् आयोजनाको सेयर बिक्री शुरु भएको हो ।
सेयर खुलेको शुरुमै प्रधानमन्त्री ओलीले १० हजार कित्ता र उर्जामन्त्री पुनले १ हजार कित्ताका लागि आवेदन दिएको उर्जामन्त्रालयका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।
शुरुमा आवेदन गर्दा १० प्रतिशत मात्रै लगानी गरे हुने व्यवस्था गरिएको छ । एक सय रुपैयाँको सेयरमा हाल १० रुपैयाँ मात्रै लगानी गरे हुने व्यवस्था गरिएको छ । बाँकी रकम भने आयोजनाको भौतिक निर्माण ७५ प्रतिशत सकिएपछि गर्ने व्यवस्था मिलाइएको छ ।
जनताको जलविद्युत् कार्याक्रममा अनुसार सबै मन्त्री, सचिव र सरकारी कर्मचारीले समेत सेयरमा लगानी गर्ने गरी व्यवस्था मिलाइएको छ । आयोजनामा १० हजार रुपैयाँ बराबरदेखि १ लाख रुपैयाँसम्मको आवेदन गर्ने गरी व्यवस्था मिलाइएको छ ।
सरकारले गत फागुन २ गते विभिन्न १९ वटा आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा सूचीकृत गरेको छ । ती आयोजनाको क्षमता ३ हजार ५०० मेगावाट रहेको छ । सेयर प्रमाणपत्र नपाउञ्जेलसम्म लगानी गरेको रकमको व्याज समेत दिने गरी व्यवस्था मिलाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया