काठमाडौं । नेपाल धितोपत्र बोर्डले उपत्यका बाहिरका १४ स्थानबाट हकप्रद लिलाम प्रक्रियामा आवेदन संकलन गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको छ ।
बोर्डले प्रादेशिक संरचना, आर्थिक रुपमा सक्रिय तथा धितोपत्र कारोबारको अवस्था समेतको आधारमा उपत्यका बाहिरका १४ स्थानहरुबाट समेत हकप्रद लिलाम प्रक्रियामा आवेदन संकलन गर्ने व्यवस्था गर्न मर्चेन्ट बैंकहरुलाई निर्देशन दिएको हो ।
धितोपत्र बोर्डले प्रदेश नम्बर १ को दुई स्थानहरु विराटनगर र विर्तामोड, प्रदेश नम्बर २ को वीरगञ्ज र जनकपुर, प्रदेश नं ३ को हेटौंडा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा र बाग्लुङ्ग, प्रदेश नं ५ को बुटवल, घोराही र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको दुई स्थानहरु धनगढी र महेन्द्रनगरबाट समेत हकप्रद शेयरको लिलाम प्रक्रियामा आवेदन दिनसक्ने व्यवस्था गर्न मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको हो ।
यसअघि बोर्डले २०७४ कार्तिक १२ गते आश्वा सदस्य तथा मर्चेन्ट बैंकहरुलाई निर्देशन जारी गर्दै आश्वा प्रणालीमार्फत हकप्रदमा आवेदन दिने व्यवस्था लागू गर्न र उपत्यका बाहिरका प्रमुख ७ शहरहरु विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट हकप्रद लिलामीमा आवेदन दिनसक्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया