धनगढी–अछामबीच हवाई सेवा सञ्चालन

अछाम  । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । 

निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो । 

यस क्षेत्रका यात्रुको सहजताका लागि आज ‘शुक्रवार’ देखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न शुरु गरिएको समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालले जानकारी दिए । समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न सकिने भन्दै उनले यात्रुको चाप र मागलाई मध्यनजर गरी हप्तामा सातै दिन उडान भर्न सकिने बताए ।

धनगढीदेखि साँफेबगरसम्मका लागि तीन हजार ३ सय ५० भाडादर कायम गरिएको छ । धनगढी–साँफेबगर नियमित हवाई सेवा सञ्चालन हुँदा अछामसहित बाजुरा र डोटी जिल्लाका यात्रुलाई पनि सहज हुने भएको छ । 

यसअघि नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि साँफेसम्म निरन्तर दोहोरो उडान सञ्चालन गरिरहेकामा फागुन २२ गतेदेखि समिट एयरले पनि नेपालगञ्जदेखि साँफेबगर उडान शुरु गरेको थियो । नेपाल एयरलाइन्सले हरेक आइतवार र बिहीवार उडान भर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?