सधैं जसरी कक्षामा पढाइ भइरहेको थियो । प्राय विद्यार्थी एकअर्कासँग गफिनमै मस्त थिए । दावुटी शेर्पाको ध्यान भने पाठको शीर्षक ‘पासाङ ल्हामु शेर्पा’ ले तानेको थियो । यसअघि यो नामसँग उनको परिचय भएको थिएन । आफ्नै थर भएको व्यक्तिका बारेमा पहिलो पटक पढिरहेकी थिइन् उनले । ‘ऊ ठूलै मान्छे हो’ किताबमा जीवनी छापिएको देखेपछि दावुटीको कलिलो मस्तिष्कले यतिसम्म अनुमान चाहिँ लगाएको थियो । त्यसैले अन्य दिनभन्दा उनी अलि बढी चनाखो भएर सरले पढाएको सुनिरहेकी थिइन् ।
‘पासाङ ल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन्’ पाठको पहिलो वाक्यले दावुटीको ध्यान यसरी आकृष्ट ग-यो कि शेर्पाहरुले हिमाल आरोहण गरेका थुप्रै किस्सा सुनिसकेका उनका कान ‘शेर्पेनी’ आरोहीका बारेमा सुन्न उत्सुक थिए । यत्तिकैमा सरले प्रश्न तेर्साए, ‘दावुटी तिमी चाहिँ सगरमाथा चढ्दैनौ ?’। सबै साथीहरुका आँखा उनैमा अडिए । कक्षामा आफू मात्रै शेर्पा(केटी) भएकाले यो प्रश्न सोधिएको हो भन्ने बुझेर नै उनले झट्पट् उत्तर फर्काइन्, ‘चढ्छु’। नभन्दै त्यसको करिब डेढ दशकपछि दावुटीले सगरमाथा आरोहण गरिन् ।
२५ वर्षीय दावुटी सगरमाथा आरोही मात्र नभएर संसारकै सबैभन्दा उच्च ठाउँ(८ हजार ८ सय ४८ मिटर)मा कफी बनाएर ‘सर्भ’ गर्नेे पहिलो व्यक्ति पनि हुन् । अहिले उनको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा समेत लेखिएको छ । दोलखाको गौरीशंकर सिमी गाउँबाट १६ वर्षको उमेरमा काठमाडौं शहर पस्दा यहाँको माहौलले अतालिएकी दावुटीले ६ हजार मिटर उचाइ भएको एउटा र ८ हजार मिटरभन्दा बढी उचाइ भएको २ वटा हिमाल छिचोलिसकेकी छिन् ।
विश्वको टुप्पोमा कफीको चुस्की
सन् २०१८ मे १४ बिहान ७ बजेतिर तिब्बततिरको क्याम्पबाट सूचना आयो ‘मौसम खराब छ हिमपहिरो जानसक्छ, फर्किहाल’। गाइडले चुचुरोमा पुग्नै लागेको बताएपछि उत्साहित भएको अनुहार यस्तो सूचना पाएपछि एकाएक मुर्झायो । यद्यपि उनीहरुले चुचुरो टेकेर मात्रै फर्कने निधो गरे । यतिका दिनको थकान त्यसमाथि खस्कदो मौसम, सबैजना हतोत्साहित भइसकेका थिए । ओठमुख सुकिसकेको थियो । आरोहणमा गएकाहरु बोल्नसक्ने अवस्थामा थिएनन् । वातावरण शून्य भयो । अब के गर्ने ? केहि भयो भने ? सबै आरोहिलाई यहि प्रश्नले हिन्ट गरिरहेको थियो तर उनीहरु मौनता साँध्दै यताउता हेरिरहेका थिए । यस्ता प्रश्नले सबैको जीवनकै महत्वपूर्ण त्यो पललाई मिस गर्ने मुडमा थिइनन् दावुटी । दिमागलाई शान्त बनाइन् र नजर चुचुरोतिर फ्याँक्दै गुनगुनाइन्, ‘फूलको आँखामा फूलै संसार….’ ।
नभन्दै उनीहरु टुप्पोमा पुगिसकेको संकेत दिए गाइडले । हुन त त्यो क्षणमा रमाउनुपर्ने हो, उफ्रिनुपर्ने हो खुसीले उमंगित हुनुपर्ने हो तर, दावुटीले त्यस्तो केही महसुस गरिनन् वा भनौं महशुस गर्ने समय नै पाइनन् । आफूलाई चुचुरोमा पुगेकोमा सेलिबे्रेट गर्ने भन्दा पनि कहिले कफी बनाएर दिउँ भन्ने हतार भएको उनले सुनाइन् ।
‘जब शिखरमा पुगेँ’
शिखरमा पुग्नासाथ कफी बनाउनतिर लागें,’ त्यो क्षण उनको मानस्पटलमा ताजै छ । उनले कारण खुलाइन्, ‘मौसम बिग्रन लागेकाले पनि मलाई समय खेर फाल्न मन लागेन ।’
कफी बनाउनलाई नै एक थर्मस पानीलाई सकेसम्म न्यानो तापक्रममा जोगाएर राखेकी थिइन् उनले । अन्य आवश्यक सामाग्री पनि क्याम्पमै तयार गरिएको थियो । कफी बन्यो । आफूसँगै शिखरमा पुगेका केही आरोहीलाई उनले कफी सर्भ गरिन् । आफूले भने खाइनन् । ‘किन ? ’हामीले जिज्ञासा राख्यौं । मुस्कुराउँदै उनले भनिन्, ‘सीमित सामान थियो त्यसैले थोरै कफी बन्यो, आफू खानुभन्दा अरुलाई दिनु ठीक लाग्यो ।’
जब आफूले बनाएको कफी कसैको जीवनको अन्तिम कफी बन्यो
एउटा आरोहीका लागि पुग्नु जति महत्वपूर्ण हो, फर्कनु उति नै चुनौतीपूर्ण । कतिपयले सफलतापूर्वक हिमाल चढेपनि फर्कने क्रममा ज्यान गुमाएको समाचार बग्रेल्ती छापिन्छन्, सुनिन्छन् । यस्तै एक अप्रत्यासित घटना भयो यो यात्रामा । फर्कने क्रममा आफूसँगै हिमाल आरोहण गरेका एक आरोहीले ज्यान गुमाएको त्यो क्षण सम्झँदा दावुटीलाई नमीठो लाग्छ । मृतक व्यक्तिको लास नभेटिएकाले त्यहीँ छोडेर आएको सम्झँदा झनै मन बिथोलिन्छ । ‘अवस्था अत्यन्तै नाजुक भएकाले लाश खोज्नभन्दा पनि आफ्नो ज्यान जोगाउनतिर लागियो,’ भावुक हुँदै उनले थपिन्, ‘त्यो हाम्रो रहरभन्दा पनि बाध्यता थियो ।’
त्यसो त त्यो क्षणमा उनी आफैलाई पनि बाँच्दिन जस्तो लागेको उनले सुनाइन् । हिउँपहिरो गएकाले सबैजना एकअर्काबाट छुट्टिए । को कता छरियो कसैले पत्तो पाएन । दावुटीको मनले भन्यो, ‘अब तँ बाँच्दिनस्, नआएको भए हुन्थ्यो’ त्यस्तै मस्तिष्कले सासलाई झिनो आसमा झुन्डाएर भन्यो, ‘जतिसक्दो छिटो भाग्’ । मन र मस्तिष्कको यही भीडन्तमा उनी दौडिन् । अन्धाधुन्द भागिन् । अन्ततः उनी बाँचिन् तर, केही विदेशी र एक नेपालीले ज्यान गुमाए । यस घटनाले आफूलाई ठूलो पाठ सिकाएको बताउँछिन् उनी । भन्छिन्, ‘दिन नआइ केही नहुँदो रहेछ त्यसैले बाँचुन्जेल ‘यसो होला कि’ भन्ने डर चाहिँ मनबाट निकालेकै राम्रो ।’
…
दावुटीको आयाम हिमाल आरोहणमा मात्रै सीमित छैन । उनले यही वर्षको ‘मिस शेर्पा’को उपाधि समेत जितेकी छिन् र नेपाललाई प्रतिनिधित्व गर्दै चाँडै नै ‘मिस टुरिजम्’ मा सहभागिता जनाउन जानेछिन् । देशमै केही गर्ने उद्देश्यले आफूले व्यवसाय समेत शुरु गरेको उनी बताउँछिन् । विगत ९ वर्षदेखि अरुको क्याफेमा कफी बनाउँदै आएकी उनले अहिले आफ्नै क्याफे खोलेकी छिन् । कफी मेकिङमा यतिका वर्ष बिताएकाले नै आफूलाई ‘बारिस्टा दावा’ भनेर बढी चिन्ने उनले बताइन् । बारिस्टा अर्थात् जसले कफी बनाउँछ र ‘दावा’उनको निकनेम । ‘नयाँनयाँ काम गर्न एकदमै मनपर्छ,’ आफ्ना योजनाबारे उनले मुस्कुराउँदै भनिन्, ‘ट्रेकिङ गाइडका रुपमा पनि काम गर्ने प्लान छ, हेरौं के हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया