पशुपति शर्मादेखि रचना रिमालसम्म कसले कसरी मनाउँदै छन् तिहार ?

तिहार नेपालीहरूको घर–दैलोमै आइपुगेको छ । तिहारकै लागि मरमसाला, दियो, बत्ती, पालासँगै विद्युतीय सामानको किनमेल पनि सुरु भैसकेको छ । दसैँमा मासु भनेजस्तै तिहार भन्नासाथ सेलरोटी, अनर्साका साथै अन्य मिठाईको सम्झना आउँछ । नेपाली चलचित्र तथा संगीत क्षेत्रमा आबद्ध कलाकारहरू पनि पाँचदिने तिहारलाई रमाइलो किसिमले मनाउन तयारीमा जुटिसकेका छन् । कुन कलाकारको कस्तो छ त तिहार योजना ?

रचना रिमाल, गायिका

यसवर्षको तिहारमा मेरो जन्मघर झापामा हुन्छु । घरमा लक्ष्मी पूजा गर्ने प्लान छ । आफ्नै दाजुभाई नभएको भएर पनि होला तिहार मलाई सामान्य नै लाग्छ । भएपनि हामी नेपालीहरुको महान चाड हो तिहार । रमाइलो त लागि हाल्छ । तिहारको टिकाको दिनमात्रै हो मलाई कता–कता खल्लो लाग्छ ।

तैपनि काकाको छोराहरुलाई टिका लागाइदिन्छु आफूले मानेको दाईहरुपनि हुनुहुन्छ उहाँहरुलाई पनि टिका लगाइदिने प्लान छ । गाँउघर तिरकै साथीभाईहरुसँग समय बिताउँछु । देउसीभैलो खेल्छु । घरमा ममीलाई घरको काम सघाउँछु । सेल रोटी पकाउँछु ।

स्कूलमा हुँदा यो देउसी भैलोको साह्रै नै महत्व हुन्थ्यो । एक हप्ता अगाडिबाट गुनियुँ चोलो लगाउन पाइन्छ भनेर रमाइलो लग्थ्यो । भैलीमा गाउने गितहरुको तयारी महिनौँ अगाडीबाट तयारी गथ्र्यौँ । कसको कति पैसा उठ्यो भनेर साथीहरुबीच प्रतिस्पर्धा हुन्थ्यो । सेल रोटी खाएर भ्याइदैनथियो । निकै रमाइलो हुन्थ्यो ।

पुशुपति शर्मा, गायक

तिहारलाई स्याङजा घर जान्छु । म कलाकार नै भएपनि यो चाडपर्वमा भने मेरो छुट्टै नियम छ । म प्राय चाडपर्वको बेला परिवारलाई नै समय दिने गर्छु त्यसैले पनि कुनै कार्यक्रममा सहभागि हुन्न । किनभने चाडपर्वको बेला पनि परिवारलाई समय दिन सकिएन भने अरुबेला त झनै सम्भव हुन्न । गाँउघर तिर सबैले माया गरेर मलाई पशुपति काले भन्नुहुन्छ । यो पालिको तिहारमा पनि म स्याङ्जा गएर पशुपति काले भएर बस्न चाहन्छु ।

तिहारको समय निकै राम्रो र प्रफुल्लित लाग्छ । चारैतिर फुल फुलेका हुन्छन् । बत्तीको झिलीमिली हुन्छ । घरवरपर पनि सफा हुन्छ, माहोल नै बेग्लै हुन्छ । देउसी भैलोले तिहारको रौनकलाई झनै बढाउँछ । म अझै पनि सम्झन्छु सानो हुँदा साथीहरु मिलेर देउसी भैलो खेल्न जान्थ्यौँ । अरु समयमा घरबाट राती बाहिर निस्कन पाइँदैन थियो । यही देउसी भैलो खेल्न भनेर राती रातीसम्म घर बाहिर भइन्थ्यो । धेरै रमाइलो गरिन्थ्यो ।

त्रिशला गुरुङ, गायिका

यसपालीको तिहारमा नयाँ गीत पस्केको छु । आशा छ सम्पूण दर्शकहरुले मनपराउनु हुनेछ । तिहारमा काठमाडौं नै हुन्छु । दादा यूकेमा हुनुहुन्छ त्यसैले मेरो अर्को एकजना दाई हुनुहुन्छ उहाँलाई टीका लगाउँछु । मेरो अधिकाम्स समय मानव धर्म आश्रममा बिताउँछु । हाम्रो यस आश्रमप्रति धेरै अगाडिबाट लगाब छ । आश्रमबाटै देउसी भैलो खेल्न जाने पनि प्लान गरेका छौँ । आश्रममै भजन गाएर रमाइलो गर्ने योजना छ ।

बाल्यकालबाटै प्रत्येक वर्षको देउसी भैलोमा म आश्रमबाट नै देउसी भैलो खेल्न जान्थे निकै रमाइलो हुन्थ्यो ।

हरिष निरौला, कलाकार

तिहारमा सोलुखुम्बु जान्छु । एक जना बहिनी छिन् । उनको हातबाट टिका लगाउँछु । तिहार निक्कै खासलाग्छ । खासगरी यो चाडपर्वको समय निकै रमाइलो हुन्छ । कामको सिलसिलामा काठमाडौं वा देशका विभिन्न स्थानमा गइएको हुन्छ ।
यही चाडवाडको बेला हो घरपरिवारसँग बिताउने । त्यसैले चाडपर्व खास लाग्छ । त्यसैले सोलुखुम्बुको नेचा गएर परिवारसँग समय बिताउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?