काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल कर्जा रकम झण्डै ५० खर्ब रुपैंयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको कात्र्तिक मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स सहितका कुल ५४ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले कुल ४९ खर्ब ७९ अर्ब रुपैंयाँ कर्जा प्रवाह गरेका हुन ।
बैंकिङ क्षेत्रबाट प्रवाह भएको कुल कर्जा रकम मध्येमा बाँणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कुल कर्जा रकम ४४ खर्ब छ अर्ब रुपैंयाँ पुगेको छ । यस बाहेक बिकास बैंक र फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम भने पाँच खर्ब ७३ अर्ब रुपैंयाँ पुगेको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रको कुल निक्षेप रकम भने यही कात्र्तिक मसान्तसम्ममा ५९ खर्ब १८ अर्ब रुपैंयाँ पुगेको छ । उक्त निक्षेप रकम मध्येमा बाँणिज्य बैंकहरुको कुल निक्षेप रकम ५२ खर्ब ३२ अर्ब पुगेको छ भने बिकास बैंक र फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम छ खर्ब ८६ अर्ब रुपैंयाँ पुगेको छ । यस अवधिमा बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा अनुपात अर्थात सिडी रेसियो भने ८१ दशमलव ३१ प्रतिशत रहेको छ ।
यसैगरी बैंकिङ क्षेत्रमा कायम रहेको अल्पकालीन अवधिको अन्तर बैंक कारोबारको व्याजदर भने दुई दशमलव ९८ प्रतिशत पुगेको राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया