पूर्वी नवलपरासीमा १० दिनसम्म विद्युत अवरुद्ध हुने

कावासोती ।  पूर्वी नवलपरासीमा  १० दिन विद्युत सेवा अवरुद्व हुने भएको छ । 

मङ्गलवार बिहान परेको पानीसँगै आएको चट्याङले नवलपुरको प्रगतिनगर सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षती पुगेपछि नवलपुरका सबैजसो ठाउमा विद्युत सेवा अवरुद्व भएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कावासोतिले बुधबार पत्रकार सम्मेलन नै गरेर औधोगिक क्षेत्रमा ७ देखि १० दिनसम्म विद्युत सेवा ठप्प हुने जनाएको छ ।

चट्याङले ट्रान्सफर्मरमा क्षती पुगेपछि नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, चोरमारालगायतका स्थानमा रहेका औद्योगिक कलकारखानामा पूर्ण रुपमा विद्युत सेवा १० दिनसम्म अवरुद्व हुने भएको वितरण केन्द्र कावासोतीका प्रमुख राजिव कुमार शर्माले जानकारी दिए ।

उनका अनुसार ट्रान्सफर्मर मर्मतका लागि बुटवल र काठमाडौंबाट समेत प्राविधिक ल्याएर मर्मतका लागि प्रयास गरेपनी सफल नभएपछी विद्युत सेवा पहिल्यैकै तुलनामा सञ्चालनमा आउन लामो समय लाग्ने भएको हो ।

ट्रान्सर्फमर नयाँ फेर्नुपर्ने भएकाले विद्युत आपूर्ति सुचारु हुन ७ देखि १० दिनसम्म लाग्न सक्ने प्रमुख शर्माले बताए । तत्कालका लागि गैंडाकोटदेखि प्रगतिनगरसम्म भरतपुरबाट अस्थायी लाईन जोडेर प्रत्येक क्षेत्रमा दैनिक २ र ३ घण्टाका दरले पालैपालो विद्युत सेवा दिने बितरण केन्द्रका सुचना अधिकारी लाल हरि उपाध्यायले बताए ।

उनका अनुसार कावासोती, चोरमारा लगायतका क्षेत्रमा पनि बर्दघाटतर्फको अस्थायी लाइनमार्फत दैनिक २र३ घण्टाकै दरले विद्युत सेवा प्रदान गरिने छ । यो अस्थायी रुपमा विशेष गरि सर्वसाधारण, खानेपानी, प्रेसलगायत अत्यावश्यक क्षेत्रमा थोरै समय भएपनी सेवा दिने प्रयास गरिएको उनको भनाई छ ।

विद्युत सेवा अवरुद्व भएपछि जिल्लाका सञ्चार माध्यम, कल कारखाना उद्योगलगायतका क्षेत्रमा त्यसको प्रत्यक्ष असर पुगेको छ । नवलपुरका कतिपय संचारमाध्यम बन्द भैसकेका छन् भने विद्युत आपूर्ति नभएपछी चलिरहेका सञ्चारमाध्यम पनि बन्द हुने अवस्थामा पुगेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?