काठमाडौं । कोशी प्रदेशमा बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक पेश भएको छ ।
यसअघि पनि २ पटक अध्यादेशमार्फत बजेट ल्याएको कोशी प्रदेश सरकारले आज प्रदेश सभामा उक्त अध्यादेश पेश गरेको हो ।
आज बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिलामन्त्रीको जिम्मेवारीमा रहेका मुख्यमन्त्री केदार कार्कीले आर्थिक विनियोजनसम्बन्धी प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।
उनले पेश गरेको विधेयकमा ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट प्रदेश सभामा पेश गरेका हुन् । त्यसमध्ये चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख र पूँजीगततर्फ २० अर्ब ३६ करोड २५ लाख रहेको छ ।
त्यस्तै मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेश गरेको विधेयकमार्फत यसअघि बजेटमा समावेश टुक्रे योजना कटौती समेत गरेका छन् ।
सरकारले दुग्ध किसानलाई लक्षित गर्दै धुलो दूध र घिऊमा अनुदान, नवप्रवर्तन कार्यक्रम, सौर्य ऊर्जा प्रणालीमार्फत चल्ने स्वचालित तुइन, हात्तीमैत्री जंगल करिडोर, इटहरीमा जलन अस्पताल, काकरभिट्टा र जोगबनी नाकामा विदेशी पर्यटक कक्ष, ‘जसको जंगल उसको मंगल’ भन्ने नारासहित जंगली जनावरका लागि संरक्षण अभियान, १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, तमोरको पानी धरान योजना आदि प्रतिस्थापन विधेयकमा घोषणा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया