काठमाडौं । गत साता मात्र माछापुच्छ्रे बैंक सञ्चालक समितिका अध्यक्ष डा. उपेन्द्र महतोले राजीनामा दिए । अहिले यो बैंकको अध्यक्ष पदमा रोशन केसी नियुक्त भएका छन् । केही दिन अघि मात्र के.सीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
यही मंसिरको पहिलो साता कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले पनि राजीनामा दिए। एनसीसी बैंकदेखि नै प्रमुख कार्यकारी रहेका अर्याल एनसीसी र कुमारी बैंक मर्जर भएपछि बनेको कुमारी बैंकमा पनि प्रमुख कार्यकारी अधिकृत रहेका थिए । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले उनको राजीनामालाई स्वीकृत गर्दै बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृतको पदमा रामचन्द्र खनाललाई नियुक्त गरिसकेको छ ।
ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले पनि गत साता राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । बैंकले उनको राजीनामालाई स्वीकृत गर्दै बैंकको का.मु प्रमुख कार्यकारी अधिकृतको पदमा मंसिर चार गते देखि नै कार्यान्वयनमा आउने गरी बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई नियुक्त गरिसकेको छ ।
गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीका सञ्चालक सुजन प्रदानले पनि राजीनामा दिएका छन् । उनले कात्तिकको तेस्रो सातादेखि नै कार्यान्वयन हुने गरी पदबाट राजीनामा दिएका हुन् । उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको भनिएपनि राजीनामाको ठोस कारण भने खुल्न सकेको छैन ।
आशा लघुवित्त वित्तीय संस्थाकी प्रमुख कार्यकारी अधिकृत जया लोहनीले पनि पदबाट राजीनामा दिएकी छन् । गत कात्तिक ३० गतेदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृत लोहोनीको राजीनामा स्वीकृत गरिसकेको छ । संस्थाले उनको ठाउँमा बद्रीप्रसाद दुलाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ ।
यी त प्रतिनिधि उदाहरणमात्र हो । पछिल्लो समय वित्तिय क्षेत्रका उच्च अधिकारीहरुले राजीनामा दिने ट्रेण्ड नै चलेको छ । आखिर किन राजीनामा दिँदै छन् त बैंकका उच्च अधिकारी ? यो प्रश्नले यतिबेला जवाफ खोजिरहेको छ ।
तर, यस्तो हुन सक्छ !
बैंक तथा फाईनान्स कम्पनीका उच्च अधिकारीहरुले राजीनामा दिनुको प्रमुख कारणहरुमा सञ्चालक एवं व्यवस्थापन समुहबिचको असन्तुष्टि, संस्थाको वित्तीय अवस्था कमजोर हुनु, मर्जरपश्चात बनेको संस्थामा कर्मचारी व्यवस्थापनमा समस्या देखिनु प्रमुख कारण देखिएका छन् ।
अर्थतन्त्रमा देखिएको आर्थिक मन्दिका कारण कर्जा असुलीमा समस्या देखिँदा वित्तीय क्षेत्रका उच्च अधिकारीहरुले राजीनामा दिने गरेको देखिएको छ ।
पछिल्लो समय राजीनामा दिएका मध्ये माछापुच्छ्रे बैंकका अध्यक्ष डा. महतोले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको भनिएको छ भने कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको राजीनामाको कारण पनि व्यक्तिगत भनिएको छ । यसबिचमा ज्योति बिकास बैंकका प्रमुख कार्यकारी श्री चन्द्र भट्टले राजीनामा दिनुको प्रमुख कारण भने सञ्चालक समितीले दिएको टार्गेट मिट गर्न नसकेको र प्रमुख कार्यकारीकोरुपमा भट्टको पर्फमेन्स पनि राम्रो नभएको बुझिएको छ ।
यसैगरी गुह्येश्वरी मर्चेन्टका सञ्चालक प्रधानले भने अन्य कारणले भन्दा पनि आफ्नै काम व्यवसायमा समय दिनु पर्ने भएकाले राजीनामा दिएको बुझिएको छ । अर्कोतर्फ आशा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जया लोहनीले राजीनामा दिनुको कारण व्यक्तिगत भएको बताउँदै आएकी छन् । तर, उनको राजीनामाको प्रमुख कारण आशा लघुवित्त र आरम्भ चौंतारी लघुवित्त वित्तीय संस्थाले मर्जर मार्फत एकीकृत कारोबार गरेपश्चात कर्मचारी व्यवस्थापनको देखिएको विवाद नै प्रमुख रहेको बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया