पार्कर खेलाडी दिनेश सुनार उर्फ ‘उड्ने मान्छे’

काठमाडौं । केही महिनाअघि सामाजिक सञ्जालमा एक युवक भाइरल भए । ‘चराजस्तै उड्ने मान्छे’ भन्ने शीर्षकमा राखिएको उनको भिडियोलाई हजारौंले हेरे । उनको खोजी सर्वत्र हुन थाल्यो । मिडिया उनी बसेकै ठाउँमा पुग्यो । जरासम्मै पुगेर अनुसन्धान गरिएपछि बल्ल उनले विश्व कीर्तिमानी राखिसकेको कुरा बाहिर आयो । उनलाई विश्व कीर्तिमानी राख्नुले त्यति चर्चा दिलाएको थिएन जति युट्युबमा राखिएको एउटा भिडियोले दिलायो । बरु ओझेलमा परेको उनको उपलब्धिलाई पनि त्यही भिडियोले प्रकाश पा-यो ।

भिडियो भाइरल हुँदा उनले दुईपटक कीर्तिमानी राखिसकेका थिए । पहिलो किर्तिमानी ‘मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ द वाल इन वन मिनट’ मा र दोस्रो कीर्तिमानी ‘दि मस्ट ब्याकवार्ड समरसल्ट वाल इन ३० सेकेन्ड’ मा राखेका थिए । अहिले उनले आफ्नो दोस्रो कीर्तिमानीलाई समेत तोडेर ‘द मस्ट ब्याकफूल ३६० वाल इन ३० सेकेन्ड’ को तेस्रो कीर्तिमानी राखिसकेका छन् । खेलको विधामा ३ पटकसम्म विश्व कीर्तिमानी राख्ने आफू मात्रै भएको उनले बताए ।

‘विश्वको कुनै खेलाडीले आफ्नै कीर्तिमानी तोड्दै ३ पटकसम्म रेकर्ड राखेको छैन’, गर्विलो आवाजमा उनले भने, ‘अझै ६, ७ पटक आफ्नै रेकर्ड तोड्ने सपना छ ।’

हामी जो ‘उनी’का बारेमा चर्चा गरिरहेका छौं ती हुन् दिनेश सुनार । नेपालका प्रथम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पार्कर खेलाडी । वि सं २०४८ सालमा मा खोटाङको हलेसी तुवाचुन गाउँपालिकामा जन्मिएका दिनेश सशस्त्र प्रहरी जवान पनि हुन् । सानैदेखि खेल्न कुद्नमा पोख्त दिनेशको यही प्रतिभालाई देखेर सन् २०६८ सालमा सशस्त्र प्रहरी महानिरीक्षक सनदकुमार बस्नेतले उनलाई खेल कोटाबाट सशस्त्र प्रहरीमा समावेश हुने अवसर प्रदान गरे । त्यसपछि दिनेश काठमाडौं आए । कसैले नखेलेको खेल खेले । नाम कमाए । इज्जत कमाए ।

खेललाई चर्चित बनाउने खेलाडी

खेलले चर्चित बनाएका खेलाडीहरुका बारेमा हामीले देखेका छौं, सुनेका छौं । अपवाद, दिनेश त्यस्ता खेलाडी हुन जसले खेललाई अस्तित्वमा ल्याए । खेल हो, पार्कर । पार्कर अर्थात् उफ्रिदै, कुद्दै, हाम फाल्दै विभिन्न कठिनाइ पार गरेर कुनै एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने खेल ।

खोटाङको सानो गाउँको सामान्य परिवारमा जन्मिएको आफूलाई गाउँकै पाखापखेरा, कान्ला र ढिस्काहरुमा उफ्रिदै, हाम फाल्दै गरेको अर्गानिक कसरतले पार्कर खेलमा पोख्त बनाइरहेको पत्तो पाएकै थिएनन् दिनेशले । अन्जानमा जोडिएको यही सम्बन्धले आज उनलाई विश्वमै चर्चित बनाएको छ । 

उनले यस्तो खेल खेले जसका बारेमा त्यसअघि शायदै कुनै नेपालीले सुनेका थिए । फुटबल, क्रिकेट जस्ता स्थापित खेलका खेलाडीहरुका निमित्त समेत ‘च्यालेन्जिङ’ वातावरण भएको हाम्रो देशमा नामै नसुनेको खेल खेल्नु, त्यसैलाई नामी बनाउनु र त्यही खेलमार्फत् ३ पटकसम्म आफ्नै कीर्तिमानी तोड्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनु आफैमा रिस्की र सराहनीय भएको दिनेश बताउँछन् । ‘कसैले नामै नसुनेको खेल खेल्नु आफैमा रिस्क हो,’ दिनेश अगाडि थप्छन्,‘तर, त्यही रिस्कले मलाई आज यो स्थानमा पु-यायो।’

त्यसो त पार्कर खेलसँग आफ्नो सम्बन्ध नजानिदो तरिकाले नै गाँसिएको र मौलाएको बताउँछन् दिनेश । 

खोटाङको सानो गाउँको सामान्य परिवारमा जन्मिएको आफूलाई गाउँकै पाखापखेरा, कान्ला र ढिस्काहरुमा उफ्रिदै, हाम फाल्दै गरेको अर्गानिक कसरतले पार्कर खेलमा पोख्त बनाइरहेको पत्तो पाएकै थिएनन् दिनेशले । अन्जानमा जोडिएको यही सम्बन्धले आज उनलाई विश्वमै चर्चित बनाएको छ । 

‘छ्या भन्दै नाक खुम्चाउने आजकल आँखा तन्काउँदै खेल हेर्छन्’

प्रतिभाले अवसरलाई तान्छ भन्ने भनाइ दिनेशको जीवनमा ठ्याक्कै मेल खान्छ । खोटाङदेखि काठमाडौं सम्मको उनको यात्रा खेलले नै जुराइदिएको हो । यद्यपि यस प्रतिभाले प्लेटफर्म नपाउन्जेल आफूले थुप्रै तीता वचनको सामना गर्नुपरेको गुनासो पोख्छन् उनी । ‘पार्करलाई खेल नै नमान्ने मान्छेहरु पनि भेटें,’ उनले गुनासो बेलीविस्तार लगाए, ‘कतिले चाहिँ मेरो गेम हेरेर विदेशी खेलाडीको स्तरमा पुग्दैनस् समेत भने’ ।

तर, गर्न सक्दैनस् भनेको काममा सफलता प्राप्त गर्दा झनै खुसी मिल्दो रहेछ भन्ने दिनेशलाई थाहा थियो । त्यसैको जवाफ स्वरुप उनी नेपालकै पहिलो अन्तर्राष्ट्रिय पार्कर खेलाडी भएका छन् र यही खेलमार्फत् विश्वमै आफूलाई अब्बल सावित गरेर ३ पटक विश्व कीर्तिमानी कायम गरेका छन् ।

शुरुवातमा गर्न सक्दैनस् भन्ने व्यक्तिहरु नै आज आफ्नो खेलको फ्यान भएको सुनाउँछन् उनी । दिनेशको खेल उनीहरु चाख मानीमानी हेर्छन् । नाक खुम्चाउनेहरु आँखा तन्काउँदै अरे वा ! को भावमा रत्तिन्छन् ।

दिनेशको पाइलालाई पछ्याउँदै अहिले नेपालमा थुप्रै पार्कर खेलाडी जन्मिएका छन् । आगामी दिनमा पार्कर खेल र यसका खेलाडीलाई अन्य खेलसरह सम्मान दिलाउने उनको ठूलो चाहना छ ।  हाल उनी त्यसैको लागि प्रयासरत छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?