काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज ‘सोमवार’ रातिदेखि दैनिक १० घण्टा बन्द हुँदैछ ।
दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ ।
मर्मतको अवधि अर्थात ‘१अप्रिल २०१९ देखि जुन ३०’ सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुल्ला गरिनेछ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा छ ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनः सुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ‘क्यान’ले जनाएको छ ।
विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महिना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुनेछ ।
क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलका अनुसार सोमवार रातिदेखि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम शुरु हुनेछ ।
पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेशिनका साथमा राति धावनमार्ग बनाइनेछ ।
लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कँदा पटकपटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत ‘रनवे रिह्याब’ गर्ने योजना बनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया