डुङ्गा व्यवसायी भन्छन्, ‘विहान बेलुकीको छाक टार्नै मुस्किल भो’

पाल्पा ।  ‘बेगनास तालको पानी, चोखो छ नि नानी, आऊ है लेखनाथै झरेर’….यो गीत सुन्दा जो कोहीका मनमा एकपटक बेगनास ताल घुमौँ घुमौँ लाग्छ नै ।

प्रकृतिको अथाह सुन्दरताले भरिपूर्ण सबैको मन लोभ्याउने बेगनास तालका मनमोहक दृश्यले नलोभिने शायद कमै हुन्छन् । पोखरा बजारबाट दक्षिणपूर्वी भू–भाग ‘साविकको सात तालको बगैंचा शहर लेखनाथ’को भित्री भागमा डाँडाको काखमा रहेको बेगनास ताल नियाल्दै डुङ्गामा घुम्दाको क्षण निकै आनन्ददायी हुन्छ । 

पोखरालाई विश्वमा सुन्दर पर्यटकीय नगरीका रुपमा चिनाउन महत्वपूर्ण योगदान गरेका यहाँका तालकै कारण पोखरामा धेरै पर्यटक भित्रिएका छन् । अझ भन्नुपर्दा यस तालमा डुङ्गा चढ्ने पर्यटकले मात्र आनन्दानुभूति लिने होइनन्, डुङ्गा चलाउने व्यवसायीको पनि रोजीरोटीको गतिलो माध्यम बन्दै आएको छ । 

यस व्यवसायबाट धेरैले घरपरिवार नै धानेका थिए । जब बेगनास तालमा पर्यटक खचाखच भरिन्थे उनीहरूलाई तालमा घुमाउन भ्याइनभ्याई हुन्थ्यो । पछिल्लो समय भने यहाँका डुङ्गा व्यवसायी यस व्यवसायबाट त्यति सन्तुष्ट छैनन् ।

 पोखरा महानगरपालिका वडा नं ३१ बस्ने रामजी कोइरालाले १६ वर्षको उमेरदेखि नै बेगनास तालमा डुङ्गा चलाउँदै आएका छन् । पहिला डुङ्गा चलाएर उनले घरखर्च राम्रैसँग चलाउने गर्थे । उनले डुङ्गा चलाउन छाडेर बीचमा केही समय वैदेशिक रोजगारमा गए । 

वैदेशिक रोजगारको कष्टपूर्ण भोगाइपछि पुनः स्वदेश फर्के लगत्तै चार वर्ष यतादेखि बेगनास तालमा नियमित रुपमा डुङ्गा व्यवसायीका रुपमा काम गर्दै आएका छन् तर, उनी यस व्यवसायमा पहिले जस्तो सन्तुष्ट भने छैनन् । 

“पहिला त कमाइ राम्रै हुन्थ्यो, बिहानदेखि साँझसम्म तालमा पर्यटकलाई डुङ्गामा घुमाउन भ्याइनभ्याई हुन्थ्यो, विहान बेलुकाको छान रामै्रसँग टरेको थियो” उनले ती दिन सम्झँदै भने । “तिनताका दिन गएको पनि पत्तो हुँदैनथ्यो, अहिले डुङ्गा त छ तर, के भन्नु सोचे जस्तो कामै पाइँदैन ।” 

उनी पहिले जस्तै कमाइ हुने आशा देखेर यो व्यवसायमा पुनः लागेको हो । यसबाट कमाउने आशा हराउँदै गएपछि वैकल्पिक पेशाको खोजीमा कोइराला छन् ।  कोइराला मात्रै होइन यहाँ डुङ्गा चलाउने अधिकाँश व्यवसायी अन्यत्र पेशा, व्यवसायको खोजीमा छन् । 

तालमा डुङ्गाको अनुपातमा पर्यटकको सङ्ख्या कम हुँदा व्यवसायीलाई काम नपुगेर त्यत्तिकै दिनभर खाली बस्नुपरेको अर्का व्यवसायी माधवप्रसाद कँडेलले बताए । उनी विगत तीन वर्षदेखि लगातार यहाँ डुङ्गा चलाउँदै आएका छन् तर, उनलाई हिजोआज यो व्यवसाय निल्नु न ओकल्नु जस्तै बनेको छ । 

“घरको काम छाडेर दिनभर बेगनास तालको किनारमा पर्यटकको पखाइमै बस्यो, तालमा आउने पर्यटकको सङ्ख्या अत्यन्तै कम छ,” उनले थपे । “कहिलेकाहीँ त खाजा खाने पैसा पनि उठ्न मुश्किल पर्छ ।” 

पहिले त डुङ्गाको पखाइमा किनारामा पर्यटकले भरिँदा काममा निकै हौसला बढ्ने गरेको अनुभव सुनाउने यनी अहिले भने पर्यटकको सङ्ख्या घट्दै गएकामा निराश छन् । 

बजार क्षेत्रदेखि भित्री भागमा ताल अवस्थित रहेकाले पनि यहाँ फेवातालको तुलनामा बाह्य तथा आन्तरिक पर्यटकको उपस्थिति कम छ । यसले गर्दा पनि डुङ्गा चलाएर जीविका चलाउने आशामा बसेका यहाँका व्यवसायीमा निराशा छाएको छ । 

यस तालमा सञ्चालनका लागि २ सय ५७ वटा डुङ्गा दर्ता भएका छन् जसमध्ये हाल २ सय डुङ्गा मात्र चालु छन् । एक सय ५१ घरपरिवार डुङ्गा चलाउने व्यवसायमा आबद्ध रहे पनि अहिले करीब १ सय परिवारले मात्र नियमित रुपमा तालमा डुङ्गा सञ्चालन गर्दै आइरहेको बेगनास ताल डुङ्गा व्यवसायी समितिका अध्यक्ष सोमराज कँडेलले जानकारी दिए ।

उनका अनुसार यहाँ वार्षिक ५० हजारको हाराहारीमा बाह्य तथा आन्तरिक पर्यटक भित्रिने गरेका छन् । “अब पर्यटक बढाउन तालमा सञ्चालन हुँदै आएका पुराना डुङ्गाका ठाउँमा स्तरीय खालका डुङ्गा थप्ने योजना छ,” कँडेलले भने ।

“तालको सुन्दरतालाई जोगाइ राख्न र पर्यटक बढाउन समितिले नयाँ ढङ्गबाट काम गर्ने तयारी गरिरहेको छ ।” 

कुल ३ सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको यस तालको पूरै भाग डुङ्गामा चढेर घुम्न आठ घण्टाको समय लाग्छ । सानो डुङ्गाको प्रतिघण्टा पाँच सय र ठूलो डुङ्गाको प्रतिघण्टा एक हजार शुल्क कायम गरिएको छ । डुङ्गा व्यवसायीले ५० प्रतिशत रकम बुझ्ने गर्छन् । 

विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्प, बन्द हड्तालका कारण पछिल्लो समय डुङ्गा चढ्ने पर्यटकको सङ्ख्यामा कमी आएको सम्बद्ध व्यवसायीहरु बताउँछन् । हावाहुरी, वर्षाका कारणले फागुनदेखि असारसम्म डुङ्गा चढ्नेको सङ्ख्या कम हुने गरेको छ ।

तालको किनारैभरि डुङ्गाको मात्र ताँती छ तर, चढ्ने पर्यटकको चलहपहल खासै नभेटिएको पाल्पा रामपुरबाट घुम्न पुगेका समाजसेवी सागरप्रसाद देवकोटाले बताए । 

“बेगनास तालको किनारमा दुई घण्टा बसेर ताल अवलोकन ग-र्यौं, डुङ्गाको सङ्ख्या अनुसार पर्यटकको उपस्थिति न्यून देखें”, उनले भने । 

डुङ्गाको सङ्ख्या घटाएरै भए पनि सीमित युवालाई यहीँ डुङ्गा चलाएरै बाँच्न सक्ने आधार समितिले तयार गर्नुपर्ने उनको भनाइ छ । समितिले सङ्ख्यात्मक रुपमा मात्र नभई आवश्यकतानुसार निश्चित डुङ्गा चलाउने व्यवस्था गर्न सके व्यवसायीले राम्रै कमाइ गर्न सक्नेछन् । 

चाहिनेभन्दा बढी डुङ्गा दर्ता गरेका कारण व्यावसायिक रुपमा लागेका डुङ्गा व्यवसायी अब विस्तारै यस व्यवसायबाट विस्थापित हुँदैछन् । त्यसकारण सङ्ख्यालाई भन्दा पनि व्यावसायिकतालाई ध्यान दिएर डुङ्गा सञ्चालन गर्नेतर्फ समितिले सोच्नु आवश्यक देखिन्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?