धनगढी । कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्रमा यस वर्ष गर्न लागिएको उखु खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयमार्फत उखु खेतीको क्षेत्र विस्तार गर्न सम्बन्धित क्षेत्रका कृषक, कृषक समूह र कृषि सहकारीलाई अनुदानमा बीउ वितरण गरिएको मन्त्रालयका उपसचिव खगेन्द्र शर्माले जानकारी दिए ।
वर्षायाममा हरेक वर्ष कैलाली र कञ्चनपुरमा बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने गरेको छ । उखु खेती क्षेत्र विस्तार कार्यक्रमले बाढी र डुबानबाट जेगिन टेवा पु-याउने, कृषकको आयआर्जन बढ्ने र आवश्यक परिमाणमा उखु पाउन नसकिरहेका चिनी उद्योगलाई उखुको उपलब्धता हुने उनले बताए ।
मन्त्रालयले कैलालीका कैलारी गाउँपालिका र भजनी नगरपालिका, कञ्चनपुरको पुनर्वास, लालझाडी, शुक्लाफाँटा, बेलौरी र कृष्णपुर नगरपालिका क्षेत्रका कृषक, कृषक समूह र कृषि सहकारीलाई झण्डै ६ सय ११ बिघा जग्गामा पुग्ने ३९ हजार ७ सय १ क्वीन्टल उखुको बीउ वितरण गरेको हो ।
सो कार्यक्रमका लागि मन्त्रालयको एक करोड १९ हजार बजेट विनियोजन गरिएको थियो । उखु खेती गर्ने किसानलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था मर्सी क्रोप्स नेपालले समेत मल औषधि लगायतको प्राविधिक सहयोग गरिरहेको जनाइएको छ ।
स्थानीय रुपमा उत्पादन भएको उखुको गुणस्तरीय बीउ नै किसानलाई वितरण गरिएको छ । स्थानीय क्षेत्रमा उत्पादित बीउ वितरण गरिएबाट बीउ उत्पादक सम्बन्धित कृषकले उचित मूल्य पनि पाएका छन् । कैलारी गाउँपालिकाका बीउ उत्पादक किसान भागीराम चौधरीले उखुलाई बीउको रुपमा बिक्री गर्दा उचित मूल्य पाएको बताए ।
मुङ्गको बीउ वितरण
मन्त्रालयले कैलाली र कञ्चनपुरमा नै दलहन बाली मुङ्गको खेती गर्न चाहने कृषकलाई शत प्रतिशत अनुदानमा बीउ वितरण गरेको छ ।
उक्त कार्यक्रमअन्तर्गत झण्डै ३ सय ३३ बिघा जग्गामा पुग्ने छ हजार किलो मुङ्गको बीउ वितरण गरिएको छ । यसको बीउ वितरणका साथै सिँचाइको व्यवस्थापनका लागि मन्त्रालयले दुई करोड सात हजार बजेट विनियोजन गरेको थियो ।
हिँउदे बाली भित्र्याइसकेपछि त्यसै बाँझो रहने जग्गाको सदुपयोग गर्न, अतिरिक्त आयआर्जनमा किसानलाई टेवा पु-याउन र जग्गाको मलिलोपना बढाउन यो कार्यक्रम कार्यान्वयमा ल्याइएको हो ।
यस क्षेत्रमा रहेका दालमोठ उद्योगले दालमोठ तयार पार्दा भारतबाट दलहन भित्र्याउनु परेको अवस्थामा गरिएको मुङ्गको खेतीले आयातको परिमाण घटाउने विश्वास गरिएको छ । यस क्षेत्रका दालमोठ उद्योगहरुले दैनिक करीब एक ट्रक दालमोठ भारतबाट आयात गर्ने गरेको बताइएको छ ।
“मुङ्गको दाल खानामा पौष्टिक भएकाले पनि यसको खेती विस्तारमा जोड दिइएको हो”, मन्त्रालयका उपसचिव शर्माले भने, “विगतमा छिटपुट रुपमा यसको खेती हुने गरेकामा पहिलो पटक ठूलो परिमाणमा यस वर्ष यसको खेती गर्न बीउ वितरण गरिएको हो ।”
यसै गरी विपन्न समुदायको पोषणमा सुधार ल्याउन सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका १३ हजार ५ सय परिवारलाई प्रतिपरिवार पाँच बिरुवाका दरले ओखर, नास्पाती, आरुबोखडा लगायतका फलफूलका विरुवा निःशुल्क वितरण गरिएको छ ।
प्रदेशमा मुख्यमन्त्री कृषि औजार उपकरण अनुदान सहयोग कार्यक्रमअन्तर्गत पचास प्रतिशत अनुदानमा कृषक तथा कृषक समूहलाई कृषि औजार उपकरण वितरण गर्न लागिएको छ । यसका लागि आवेदन माग गरिएकामा झण्डै एक हजार ४ सय कृषक तथा कृषक समूहले कृषि औजार माग गरेको बताइएको छ ।
प्रदेश सरकारले चालू वर्षमा ‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार’ भन्ने नारासहितको कृषि गतिविधि सञ्चालन गर्ने नीति लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया