बेझाड । कालीगण्डकीको गौरीघाटमा पुल निर्माण कार्य द्रुत गतिमा भइरहेकाले रामपुर र चापाकोट क्षेत्रका स्थानीयवासी खुशी भएका छन् ।
पाल्पा रामपुर नगरपालिका ६ र स्याङ्जा चापाकोट नगरपालिका–७ जोड्ने यो पुल जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ्ग एण्ड थोकर निर्माण कम्पनीले निर्माण गरिरहेको छ ।
तीन वर्षमा सम्पन्न गर्ने गरी सो पुल वि.सं २०७२ फागुन १६ गते शिलान्यास भएको थियो । १ सय ७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको सो पक्की पुल नेपाल सरकारको १५ करोड ११ लाखको लागतमा निर्माण हुँदैछ ।
कालीगण्डकी वेशी क्षेत्रमै गुणस्तरीय, नमूना र तीव्र गतिमा पुल निर्माणको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि एवं चापाकोट नगरपालिका–७ का अध्यक्ष एकदेव भट्टराईले बताए ।
पुल निर्माणको काम ९० प्रतिशत सकिएको छ । ‘यो महीनाभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ, फागुनभित्रमा सम्पन्न गर्ने भनिएपनि प्राविधिक कारणले सम्पन्न गर्न कठिनाई भएपछि एक महीना पुल निर्माण कार्य लम्बिन पुगेको छ’, उनले भने ।
नयाँ वर्ष शुरुआतसँगै पुल सञ्चालनमा आउने पुल निर्माण समितिका उपाध्यक्ष एवं रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए । पुलबाट सहज र सुरक्षित रुपमा यात्रा गर्न सकिने र गाउँघरमा उत्पादित कृषिजन्य सामग्री गाडीमा ओसारपसार गर्न सजिलो हुने भएपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका हुन् ।
पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका लगायतका स्थानीयवासी यस पुलबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।
नमूनाकै रुपमा छिटो छरितो पुल निर्माण भएको देख्दा रमाइलो लागेको रामपुर नगरपालिका–६ का स्थानीयवासी कृष्णकुमार अर्यालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया