राष्ट्र बैंकको प्रतिवेदन भन्छ : चार महिनामा ५० अर्ब ५७ करोड रुपैयाँको वस्तु निर्यात

लोकपथ
161
Shares

काठमाडौं । पछिल्लो समय मुलुकको वैदेशिक व्यापार कमजोर बन्दै गएको देखिएको छ । आयात र निर्यातबिचको उच्च असन्तुलनका कारण पनि मुलुकको वैदेशिक व्यापार कमजोर बन्दै गएको हो ।

नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक वर्षको चार महिना अर्थात कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार निर्यात घटेको छ भने आयात उच्चरुपमा बढेको छ ।

यसले गर्दा पनि मुलुकको वैदेशिक व्यापार कमजोर देखिएको हो । यस अवधिमा मुलुकको कुल वस्तु निर्यात सात दशमलव सात प्रतिशतले घटेर ५० अर्ब ५७ करोड रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३३ दशमलव तीन प्रतिशतले घटेको थियो ।
राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४ दशमलव पाँच प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय सात दशमलव नौ प्रतिशत र चार प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०÷८१ को चार महिनामा कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले कमी आई पाँच खर्ब १२ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः दुई दशमलव पाँच प्रतिशत र २७ दशमलव सात प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलव चार प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को चार महिनामा कुल वस्तु व्यापार घाटा तीन दशमलव तीन प्रतिशतले कमी आई चार खर्ब ६१ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलव नौं प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दशमलव नौ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव तीन प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५३ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२ अर्ब ६९ करोड बराबरको भएको राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?