काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आम्दानी गत तीन वर्षमा दोब्वर भन्दा बढीले वृद्धि भएको छ ।
महालेखा परिक्षकको लेखापरिक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आ.व २०७७/७८ मा रु.९ अर्ब १० करोड ९७ लाख ३१ हजार ४५ रहेको थियो ।
यस्तै आ.व २०७८/७९ मा रु.१६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रहेको छ । त्यसैगरी आ.व २०७९/० को प्रारम्भिक कुल आम्दानी रु. २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको निगमले जनाएको छ ।
यसरी हेर्दा निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ % ले वृद्धि गरेकोे प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विगत आठ बर्षदेखि निगमसँग अन्तर्राष्ट्रिय तर्फ ४ वटा र आन्तरिक तर्फ २ वटा जहाज उडानमा रहेका छन् । ‘निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धी हासिल गर्न सफल भएको र निगम विस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि गर्दछ’, उनको विज्ञप्तिमा भनिएको छ, ‘हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमि रहेकोले यस तर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको छ ।’
जस अनुसार निगमले जहाज खरिदको प्रक्रिया समेत अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया