काठमाडौं । सरकारले पोखराबाट नेपाल भ्रमण २०२० को पूर्व शुरुवात ‘सफ्ट लञ्चिङ’ गर्ने भएको छ ।
नयाँ वर्षको पूर्व सन्ध्यामामा आगामी चैत ३० गते भ्रमण वर्षको शुरुआत गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो । भ्रमणवर्षको तयारीका सम्बन्धमा यही चैत २७ गते प्रधानमन्त्रीको अध्यक्षतामा भ्रमणवर्ष मूलआयोजक समितिको बैठक बस्ने र पोखराबाट पहिलो चरणको शुरुवाती कार्यक्रम घोषण गरिने मन्त्रालयका प्रवक्ता धनश्याम उपाध्यायले जानकारी दिए ।
भ्रमण वर्षभित्र गरिने कार्यक्रम कार्यान्वयनको आवश्यक तयारीपछि भ्रमण वर्षको औपचारिक शुरुवात गरिने पनि उनले उल्लेख गरे । भ्रमण वर्ष मनाउन पर्यटनमन्त्री अध्यक्ष रहनेगरी मूलआयोजक समिति र कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा व्यवसायी सुरज वैद्य नियुक्त भएको थियो ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङ्मा भएको हेलिकप्टर दुर्घटनामा परी दुःखद् निधन भएको थियो । अहिले पर्यटनमन्त्रीको जिम्मेवारीसमेत प्रधानमन्त्रीले लिएको थियो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । चालु अब २०७५÷७६ को बजेटमा भ्रमण वर्ष मनाउने उल्लेख गरिएको थियो ।
यसअघि सन् १९९८ मा पाँच लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल–९८’ र सन् २०११ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर ‘नेपाल टुरिजम इयर’ मनाइएको थियो । उक्त कार्यक्रमको प्रभावस्वरुप पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थियो ।
नेपाल पर्यटन बोर्डको विवरण अनुसार सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को पहिलो दुई महीना जनवरी र फेब्रुअरीमा दुई लाख १६ हजार विदेशी पर्यटक नेपाल आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया