काठमाडौं । युरोपियन राष्ट्र सर्वियमा सरकार विरोधी प्रदर्शन चर्कदै गएको छ । प्रदर्शनकारीहरुले बेलग्रेडको ऐतिहासिक भवन सिटी हलमा प्रवेश गर्ने प्रयास गर्दा सुरक्षाकर्मीसँग झडप पनि भएको थियो ।
तर, सुरक्षाकर्मीले प्रदर्शनकारीलाई हटाउन भने सफल भएका थिए । सर्वियामा हालै सम्पन्न निर्वाचनलाई गैरकानूनी घोषणा गरिनुपर्ने आन्दोलनकारीको माग छ । आन्दोलनकारीले चुनावमा ठूलो धाँधली भएको बताउँदै आएका छन् ।
सर्वियामा १७ डिसेम्बरमा आम निर्वाचनको नतिजा घोषणा भएको थियो ।
चुनावी नतिजाले राष्ट्रपति एलेक्सान्डर बुसिकको सरकारलाई सत्तामा टिकाएको छ । राष्ट्रपतिको पार्टीले ४७ प्रतिशत मत पाएको जनाइएको छ ।
विपक्षी दल सर्बिया अगेन्स्ट भाइलेन्सले २३ दशमलव ५ प्रतिशत मत प्राप्त गर्दा सोसलिस्ट पार्टी अफ सर्बियाले ६.५६ प्रतिशत मत प्राप्त गरेको छ । तर, विपक्षी दलका समर्थकहरु यी नतिजाबाट सन्तुष्ट नभएकाले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै निर्वाचनलाई अवैध घोषणा गरी पुनः निर्वाचन गराउन माग गरिरहेका छन् ।
प्रदर्शनकारीहरूले राष्ट्रपति बुसिकले सत्ताको दुरुपयोग गरेर मत पेटिका साटफेर गरेर आफ्नो पक्षमा नतिजा ल्याएको दाबी गरेका छन् । निर्वाचक प्रवेक्षकहरुले पनि प्रदर्शनकारीले आरोप लगाएजस्तै मतपेटिका हेरफेर भएको बताएपछि प्रदर्शन झन चर्किदै गएको हो ।
उता, राष्ट्रपति बुसिकले टिभीमार्फत सम्बोधन गर्दै प्रदर्शनकारीहरूले देशलाई अस्थिर गर्न खोजेको आरोप लगाएका थिए । आफूले प्रदर्शनलाई नियन्त्रण गर्ने चेतावनी पनि दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया