प्रो क्लब च्याम्पियनसिपमा पुलिस विजयी

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाल प्रो क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले तेस्रो जित निकालेको छ । वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा आज भएको खेलमा पुलिसले पर्सा ११ लाई २५ रनले पराजित गरेको हो ।

पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो । जवाफमा पर्सा ११ ले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९९ रनमात्रै जोड्न सक्यो ।

पर्साका लागि पवन शर्राफले ३२ रन जोडेका थिए । यसैगरी कप्तान सन्दीप लामिछानेले २३ रन बनाउँदा सुरज पटेलले १७ तथा रुपेश सिंहले १५ रन जोडे । अन्य खेलाडीको प्रदर्शन भने विर्सन लायक रह्यो ।

पुलिसका सागर ढकाल, ललित राजवंशी र करण केसीले दुई दुई विकेट लिँदा रासिद खान र शेर मल्लको नाउँमा एक एक विकेट रह्यो ।

पहिला ब्याटिङ गर्दा पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२४ रन बनायो । सुरुआतमै सुनिल धमला र दिलिप नाथलाई खाता नखोल्दै गुमाएको पुलिसका लागि कप्तान आरिफ शेखले २२ रन बनाए ।

अमित सिंहले २६ रनको नटआउट पारि खेल्दा करण केसीले पनि धुवाँधार २९ रनको नटआउट पारि खेले । करणले १२ बलमा २९ रन बनाउँदा दुई छक्का र दुई चौका प्रहार गरे । यस्तै, शंकर रानाले १७ रन बनाउँदा अर्जुन साउदले ११ रन जोडे ।

पर्साका लागि अनिल साहले २ विकेट लिँदा समसद मन्सुरी र रुपेश सिंहले एक एक विकेट लिए । जितसँगै पोलिस क्लब ६ अंकका साथ दोस्रो स्थानमा छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?