फेन्सिङमा आर्मीले जित्यो ३ स्वर्ण

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगितामा नेपाल आर्मीले ३ स्वर्ण पदक जितेको छ ।

नेपालगन्ज रंगशालाको कभर्डहलमा भएको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा आर्मीकी इन्दिरा पौडेलले स्वर्ण पदक जितिन् । फाइनलमा इन्दिराले एपीएफकी जानुका स्याङ्तानलाई १५–८ ले पराजित गरिन् । एपीएफकाद्वय अनिता कार्की र पूजन कुमालले कांस्यमा चित्त बुझाए ।

महिला व्यक्तिगत साबरमा आर्मीकी कमला श्रेष्ठले फाइनलमा आफ्नै क्लबकी अस्मिता बस्नेतलाई १५–१० ले हराउँदै शीर्ष स्थान कब्जा गरिन् । प्रदेश ३ की शिक्षा नापित र आर्मीकी रविना थापा तेश्रो भए ।

पुरुष व्यक्तिगत फोइल स्पर्धामा आर्मीका जलिन्द्रबहादुर शाही विजेता बने । उनले फाइनलमा आर्मीकै राजनराज खड्को चुनौती १५–११ ले पन्छाए । एपीएफका ज्ञानेन्द्र तिम्सिना र शेरबहादुर ऐरी तेश्रो स्थानमा रहे ।

प्रतियोगिताको संघीय सांसद नन्दलाल रोकायाले एक कार्यक्रमबीच शुभारम्भ गरे । प्रतियोगितामा पुरुष÷महिलातर्फ व्यक्तिगत र टिममा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रदेश १, ३, ४ र ७ तथा आर्मी, प्रहरी र एपीएफका जम्मा १ सय २९ खेलाडी सहभागी छन् ।

प्रतियोगिताअन्तर्गत शुक्रवार बक्सिङ नेपालगन्जस्थित ज्ञानोदय मावि र बुद्धिचाल बर्दियाको ठाकुरद्वारामा शुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?