काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ‘आईसीसी’द्वारा नेपाल क्रिकेट संघ ‘क्यान’ निलम्बन फुकुवा नहुँदै २०७५ सालको खेल क्षेत्रमा केही निराशा, समस्या, विवादबीचमा केही जित, खुसी, उपलब्धि छोडेर हामीबाट बिदा हुँदैछ । १२ महिनालाई फर्किएर हेर्दा नेपाली खेलकुद क्षेत्रमा निकै उतारचढावका बीच केही नतिजा सम्झन लायकको रह्यो । यो वर्ष ‘क्यान’को विवाद कायमै रहँदा तीन वर्षदेखि नेतृत्वविहिन बनेको नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पा-यो । त्यस्तै इन्डोनेशियामा सम्पन्न एशियाली खेलकुद ‘एशियाड’मा पदक विहिन बन्नु परेन । नेपाली महिला फुटबल टिम ओलम्पिक छनोटको दोस्रो चरणमा पुगे पनि अघिल्लो चरणको यात्रा तय गर्न सकेन । साफ च्याम्पियनसिपमा एकलौटी राज गरिरहेको भारतसँग फाइनलमा पराजित हुँदै घरेलु मैदानमा नेपालले उपाधि जित्नबाट बञ्चित बन्नु प-र्यो । भौतिक संरचनाको निर्माण ढिलाई भएको भन्दै पटक—पकट प्रतियोगिताको मिति सारिएको आठौँ राष्ट्रिय खेलकुद पनि यसै वर्ष शुरु भयो । फर्केर हेर्दा कस्तो रह्यो त ? २०७५ सालको नेपाली खेल क्षेत्र :
३० वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पाएको ऐतिहासिक सफलता
नेपाली क्रिकेट संघ ‘क्यान’को विवाद अहिलेसम्म सुल्झिएको छैन । तर, तीन वर्षसम्म नेतृत्वविहिन बनेको नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ । नेपालले संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको तीन एकदिवसीय क्रिकेटको सिरिज २—१ ले जित्दै नेपाली क्रिकेटमा नयाँ इतिहास बनायो । ‘क्यान’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसीसी’को निलम्बलनमा परेको तीन वर्ष नाघिसक्यो । तर, अहिलेसम्म विवाद समाधान भने हुन सकेको छैन ।
यहि तीन वर्षको नेतृत्वविहिन नेपाली क्रिकेटले पनि एक पछि अर्को सफलता हात पार्दै आइरहेको छ । क्रिकेटमा भारत, पाकिस्तान, इंग्ल्याण्ड लगायतका टिमलाई निक्कै बलियो मानिन्छ । एकदिवसीय क्रिकेट होस, वा टेस्ट अथवा विश्वकप क्रिकेट । यी तीन वटै राष्ट्रले विश्व क्रिकेटमा एक छत्र राज गरिरहेको छ । तर, भारत र पाकिस्तानलाई पच्छाउँदै नेपाल पनि विश्वकप खेल्ने सपनाका साथ लागि परिरहेको छ । कति नेपाली खेलाडीहरुल भारत र पाकिस्तान लगायतका खेलाडीले बनाएका विश्व कीर्तिमान समेत तोड्न सफल भइसकेका छन् । ‘क्यान’ निलम्बनमा नै परेको अवस्थामा गत वर्षमात्र नेपालले एक दिवसीय राष्ट्रको मान्यता पाएको थियो ।
रोहित बने अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी
युएईविरुद्धको एकदिवसीय खेलका दौरान नेपालका युवा क्रिकेटर रोहित कुमार पौडेलले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने नयाँ विश्व रेकर्ड बनाए । उनले भारतीय पूर्व क्रिकेटटर सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको नाम रहेको विश्व कीर्तिमानलाई तोडेका थिए । यो कीर्तिमान सचिन नाममा १६ वर्ष २ सय १३ दिनको तथा अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको थियो । तर, रोहित १६ वर्ष १ सय ४६ दिनमा अर्धशतक बनाउँदै नयाँ रेकर्ड बनाए ।
महेश्वर महर्जनको संघर्षशील कथा, दुई दशकमा बल्ल सफलता
यसै वर्ष शारीरिक सुगठन खेल पनि एकाएक चर्चाको विषय बन्यो । १५ औँ धर्मश्रीको उपाधि विजेता मिलन सिजापतिको चर्चा सेलाउन नपाउँदै महेश्वर महर्जनले अन्तर्राष्ट्रिय भुमिमा स्वर्ण पदक जित्दै नेपाली खेलकुदमा नयाँ इतिहास नै रचे । नेपालमा शारीरिक सुगठन खेल त्यति व्यवसायिक भइसकेको छैन । व्यक्तिगत रुपमा यो खेलमा लागेको खेलाडीहरु पनि आफ्नै व्यक्तिगत खर्चमा प्रतियोगिताहरु खेल्दै आइरहेका छन् । निकै खर्चिलो, त्यसमा पनि खानेकुराहरुमा पूर्ण नियन्त्रण गरेर तौलिएर खानुपर्ने खेलमा लाग्न चाहेर पनि धेरैले सक्दैनन् । यस्तैमा महेश्वरले थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै सबैलाई चकित पारे । यसअघि भुटानमा भएको एशियन च्याम्पियनसीपमा पनि उनले स्वर्ण पदक जितेका थिए । महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जिते । विश्व च्याम्पियनसीपमा नेपाली बडीबिल्डर विजेता बनेको यो पहिलो पटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदक जितेका थिए । त्यसैले सन् २०१८ महेश्वरको लागि लाइफको टर्निङ प्वाइन्ट बन्यो ।
एशियाडमा प्याराग्लाइडिङले दिलाएको रजत पदक
यसैवर्ष नेपालले अर्को ऐतिहासिक सफलता पनि हात पा—र्यो । साहसिक र मनोरञ्जनको रुपमा लिइएको प्याराग्लाइडिङले एशियाली खेलकुदमा रजत पदक जित्यो । पदकको आशा गरिएको खेलहरु तेक्वान्दो, कराँते, उसु लगायतका खेलाडीहरु पहिलो चरणबाटै बाहिरिपछि नेपाल पदकबिहिन बन्ने अवस्थामा थियो । त्यसैबेला प्याराग्लाइडिङले रजत पदक जित्दै नेपालको लाज बचाएको थियो । एशियाडको ६७ बर्षे इतिहासमा नेपालले दोस्रो रजत पदक जित्दा प्याराग्लाडिङले पहिलो सहभागितामा नै पदक दिलायो । प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणमा नेपाल दोस्रो हुँदै रजत पदक जित्न सफल भयो । यसअघि सन् १९९८ मा थाइल्याण्डको बैंककमा तेक्वान्दोकी सविता राजभण्डारीले तेक्वान्दोमा रजत जितेकी थिइन । त्यसपछिका १६ संस्करणमा सहभागिता जनाउदा नेपालले कास्य पदक मात्र जितेको छ । नेपाली टिममा युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापाको टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई ऐतिहासिक पदक दिलाए ।
क्रिकेट खेलेरै बने करोडपति
नेपाली क्रिकेट टिमका सदस्य युवा क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय लिग खेल्नमा व्यस्त छन् । १८ वर्षे युवा लेग स्पिनर सन्दिपले सन् २०१८ मा क्रिके खेलेरै करोडपति समेत बने । अहिले विश्वका नाम चलेका चर्चित क्रिकेटरले पनि सन्दीपको तारिफ गर्छन् । चितवनको क्याम्पाचौरबाट शुरु भएको उनको क्रिकेट यात्रा यतिबेला अन्तर्राष्ट्रियस्तरमा लम्बिरहेको छ । सन् २०१८ मा सन्दिप एकपछि अर्को अन्तर्राष्ट्रिय क्रिकेट लिगमा व्यस्तता बढ्दै गइरहेको छ । अहिले सन्दीप इन्डियन प्रिमियर लिग ‘आइपिएल’को १२ औँ संस्करणमा दिल्ली क्यापिटल्सबाट खेल खेलिरहेका छन् । यसअघि उनले क्यारिवियन प्रिमियर लिग, क्यानेडियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग लगायतका थुपै प्रतियोगितामा सहभागी भए । क्रिकेटबाटै नाम र दाम कमाएका सन्दीप अहिले विश्वमा नै चर्चित नेपाली युवा खेलाडीका रुपमा चिनिन्छन् ।
घरेलु मैदानमा साफको उपाधि जित्नबाट वञ्चित
घरेलु मैदानमा आयोजना भएको नेपालले महिला साफ च्याम्पियनसिपको उपाधि जित्नबाट वञ्चित हुनु प¥र्यो । उपाधि जित्ने लक्ष्य लिएर खेल खेलेको नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको थियो । तर, फाइनलमा भारतसँग ३—१ गोल अन्तरले पराजित हुँदै नेपालले यो पटक पनि उपाधि जित्न सकेनन् । तर, सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिक्स गेम्सको एशिया रिजनको दोस्रो चरणमा नेपालले आफ्नो स्थान यसै वर्षमात्र सुरक्षित ग¥र्यो । तर, तेस्रो चरण प्रवेशको खेलमा मात्र ३ अंक जोड्दै रित्तो हात घर फर्कियो । नेपाल भारत र म्यानमारसँग समान ३—१ गोलले पराजित भएको थियो । तर, अन्तिम खेलमा नेपालले नयाँ प्रतिद्धन्दी इन्डोनेशियालाई २—१ गोलले पराजित गर्दै ओलम्पिक छनोटको अन्त्य गरेको थियो ।
साम्बा र अनिताले विदेशमा लिग खेल्ने अवसर
स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले भारतको हिरो इन्डियन महिला लिग फुटबल खेल्ने मौका प्राप्त गरेका छन् । नेपाली राष्ट्रिय टिमकी भरपर्दा स्ट्राइकर साम्बा र मिडफिल्डर बस्नेतले पहिलो पटक भारतीय लिग खेल्न लागेका हुन् । पछिल्लो समय राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गर्दै आइरहेका यी दुवै खेलाडीले भारतको शीर्ष डिभिजनको महिला लिग खेल्ने भएका हुन् ।
किरण र रोहित अन्तर्राष्ट्रिय मैदानमा उत्कृष्ट खेलाडी घोषित
यसै वर्ष नेपाली राष्ट्रिय खेलाडीद्धय डिफेन्डर रोहित चन्द र गोलरक्षक किरण चेम्जोङको लागि निक्कै फलदायी रह्यो । चन्द नेपालमा भन्दा पनि विदेशी भुमि इन्डोनेशियामा बढि चर्चामा आए । इन्डोनेसियाको लिग खेलेका रोहितले यसैवर्ष जीवनमा नै पहिलो पटक ठूलो सफलता हात पारे । उनले आफ्नो क्लवलाई लिगको उपाधि जिताउन महत्वपूर्ण भुमिका खेलेको भन्दै उनी उत्कृष्ट खेलाडी समेत बने । त्यस्तै गोलरक्षक किरण चेम्जोङले पनि यसै वर्ष माल्दिभ्समा तहल्का मचाए । चेम्जोङले विदेशी भुमिमा उपाधि जितेपनि सबै सार्क क्षेत्रकै थिए । किरणले मल्दिभ्स र भारतको आई लिगको उपाधि जितेका थिए ।
पछिल्लो पटक चेम्जोङ पनि एकपछि अर्को रुपमा विदेशी लिग खेल्नमा व्यस्त छन् । नेपालको राष्ट्रिय टिमका पहिलो रोजाइका गोलकिपर किरणले पनि यो वर्ष विदेशी भुमिमा नेपालको झण्डा निकै फहराए । उनी माल्दिभ्स लिगको उत्कृष्ट गोलकिपर बनेपछि उनको चर्चा झन चुलिएको छ ।
टिसी स्पोर्टसलाई माल्दिभ्सको धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका किरण टीसी स्पोर्ट्स क्लबले यस सिजन उपाधि जित्दा लिगको सर्वोत्कृष्ट गोलकिपर चुनिए ।
किरणको टोलीले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अंक जोड्दै लिग जितेको थियो । किरणको टोलीले लिग अवधिभर खेलेका १६ जम्मा ५ खेलमा मात्र गोल खाए । किरणले यसअघि पनि भारतके मिन्नरेभा पन्जाबबाट खेल्दै टिमलाइ आई लिग उपाधि पनि जितेका थिए । विदेशी लिगमा मात्र होइन किरणले राष्ट्रिय टिमका लागि पनि निकै ठूलो योगदान दिए ।
कछुवाको गतिमा पूर्वाधार पूनर्निर्माणको काम, १३ औँ साग खेलकुद अन्योलमा
नेपालमा आयोजना हुने भनिएको १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’को अहिलेसम्म मिती तय गर्न सकेको छैन । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले ‘साग’ प्रतियोगिताको मिती सावर्जनिक नगरेको प्रति दक्षिण एशियाली ओलम्पिक काउन्सिलका अधिकारीहले चिन्ता व्यक्त समेत गर्न थालेका छन् । काउन्सिलका अधिकारीहरुका अनुसार सन् २०१९ भित्रै प्रतियोगिताको मिती तय नगरे नेपालले ‘साग’ आयोजनाको अवसर नै गुम्न सक्ने बताए । सागलाई लक्षित गर्दै पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती र आवश्यक बजेट अझै तयार हुन नसक्दा प्रतियोगिता आयोजना अन्योलमा परेको हो ।
दुई वर्ष अगाडि नेपालले यसैवर्ष साग खेलकुद सम्पन्न गर्ने भन्दै आयोजनाको जिम्मेवारी लिएको थियो । तर, अहिलेसम्म खेलकुदका संरचनाहरु समयमा नै निर्माण हुन नसक्दा प्रतियोगिता हुने नहुने केही भन्न सकिने अवस्थामा छैन ।
मनाङ बन्यो ‘ए’ डिभिजन लिगको च्याम्पियन
विभिन्न कारणले रोकिएको ‘ए’ डिभिजन लिग चार वर्षपछि पुनः सञ्चालन भयो । २०७५ सालमा भएको लिगको चार्म पहिलेको तुलनामा भन्दा निक्कै कम थियो । पहिलो पटक रेलिगेसन विना खेलाइएको यो प्रतियोगिताको उपाधि मनाङ मस्याङदी क्लब जित्यो । लिगमा उत्कृष्ट खेल खेल्दै मनाङले कीर्तिमानी आठौं पटक ‘ए’ डिभिजन लिगको उपाधि जित्यो । मनाङले पहिलोपटक २०४३ सालमा ‘ए’ डिभिजन लिगको उपाधि जितेको थियो भने त्यसपछिका खेलमा मनाङ ६ पटक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको थियो ।
आठौँ राष्ट्रिय खेलकुद शुरु
आठौँ राष्ट्रिय खेलकुद सञ्चालन गर्ने भनिए पनि प्रतियोगिताको निश्चित मिति नतोकिँदा खेलाडी तथा प्रशिक्षकहरु तनाव थिए । घरेलु प्रतियोगिताको कुम्भ मेलाको रुपमा लिइएको यो प्रतियोगितालाई मध्यनजरमा राख्दै खेलाडीहरुले निक्कै कडा अभ्यास पनि गरिरहेका थिए । तर, विविध कारणवश तोकिएको समयमा शुरु हुन नसकेको यो प्रतियोगिता पनि यसै वर्ष शुरु भएको छ ।
आठौँ खेलकुदकोे औपचारिक उद्घाटन बैशाख ५ गते हुने भए पनि ५ खेल भने पूर्व निर्धारित तालिका अनुसार बुधवारदेखि नै शुरु भएको छ । यो प्रतियोगिताको समापन भने बैशाख ११ गते हुनेछ । उद्घाटन र समापन दुवै नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ ।
यसपटकको आठौँ खेलकुदमा ३५ खेल समावेश गरिएको छ । जसमध्ये बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइक्लिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् । त्यस्तै दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । त्यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्टटेनिस, लङटेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । यता बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् । ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौंमा गल्फ प्रतियोगिता गरिने छ । प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौंमा उक्त खेल आयोजना गर्न लागिएको जनाइएको छ ।
आठौँ राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३ सय ७२ स्वर्ण, त्यत्ति नै रजत र ५ सय ६३ कास्य पदकका भिडन्त हुनेछ । बृहत राष्ट्रिय खेलकुदको पहिलो, दोश्रो र तेश्रो संस्करण बाहेक दुई वर्षको अन्तरालमा पहिलो पटक राष्ट्रिय खेलकुद हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया