काठमाडौं । जापानमा सोमबार गएको भूकम्पका कारण ८ जनाको मृत्यु भएको छ । अहिले उद्धारकार्य जारी रहेकाले संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
२४ घण्टाको अवधिमा एक सय ५५ पटक भूकम्पको धक्का महसुस गरिएको थियो । जापान सरकारले उद्धार राहतलाई तिव्रता दिएको छ । भग्नावशेषमा दबिएका व्यक्तिको खोजी जनाइएको छ ।
प्रहरी र स्थानीय अधिकारीहरूले मंगलबार बिहानै भत्किएका भवनको भग्नावशेषबाट शव निकालिएको जानकारी दिएका छन् । सोमबार दिउँसो जापानमा ७.६ म्याग्निच्युडको प्रारम्भिक भूकम्पले धेरै भवनहरू ध्वस्त पारेको छ भने हजारौं घरहरूमा बिजुली अवरुद्ध भएको छ ।
केही तटीय क्षेत्रका बासिन्दाहरूलाई सुनामीको चेतावनी पनि जारी गरिएको छ । भूकम्पले जापानको लामो पश्चिमी तटवर्ती क्षेत्र र छिमेकी दक्षिण कोरियामा करिब १ मिटर अग्लो छालहरू उठाएको थियो ।
यसैगरी, भूकम्पका कारण धावनमार्ग चिरा परेपछि सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तको एउटा स्थानीय विमानस्थल बन्द गरिएको छ । सबैभन्दा बढी प्रभावित क्षेत्रका मुख्य सडकहरू नराम्ररी क्षतिग्रस्त भएकाले उद्धार कार्यमा बाधा पुगेको बताइएको छ ।
जापानको मौसम विज्ञान एजेन्सीले सोमबार सुदूर नोटो प्रायद्वीपमा भूकम्प गएपछि लगातार परकम्पहरू गएकालले आगामी दिनमा अझै शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएको छ ।
यस्तै, सरकारले सोमबार रातिसम्म मुख्य टापु होन्सुको पश्चिमी तटमा रहेका नौ प्रान्तका ९७ हजारभन्दा बढी मानिसहरूलाई घर छाड्न आदेश दिएको थियो । उनीहरूले खेलकुद हल र विद्यालय व्यायामशालाहरूमा रात बिताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया