काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको चौथो खेलमा नेपालले शानदार जीत हात पारेको छ ।
मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा मंगलवार भएको खेलमा नेपालले ओमनलाई १ सय ५० रनले पराजित गरेको हो । २ सय ३० रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको ओमानको पारी ४४ दशमलब १ ओभरमा मात्र ७९ समेटिएको थियो ।
ओमानका लागि अमनप्रित सिंह र जिल तन्नाले सर्वाधिक १३-१३ रन जोडेका थिए । तर, अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक भने जोड्ने सकेनन् । ओमनको पारी ध्वस्त पार्ने क्रममा नेपालका पवन सर्राफले ३ तथा सुर्य तामाङ र प्रतिष जिसीले समान २-२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ४३ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए ।
त्यस्तै प्रतिष जिसीले ४१ रन, भिम सार्कीले ३९ रन, अविशेक बस्नेतले १५ रन तथा रित गौतम १० रन जोडेका थिए ।
ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २-२ विकेट लिए । जितपछि नेपालले विश्वकपमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ । दोस्रो स्थानको नेपालले ४ खेलबाट ६ अंक जोडेको छ ।
नेपालले यस अघि भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनले तथा तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो । यता दोस्रो खेलमा भने नेपालले संयुक्त अरब इमिरेट् ‘युएई’लाई डकवर्थ लेविसको आधारमा १ रनले हराएको थियो ।
अब नेपालले बिहीवार आफ्नो अन्तिम खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया